देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिंहदरबारमा एमाले कार्यदलको बैठक जारी

देशान्तर

काठमाडौं – सत्तारूढ एमालेमा पार्टीको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ। माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले कोटेश्वर पुगेर माधव नेपाललाई भेटेर फर्केपछि करिब १२ बजे सिंहदरबारमा कार्यदलको बैठक सुरु भएको हो।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो पनि बैठक बसेको थियो। हिजोको बैठक सकारात्मक ढंगले अगाडि बढेको नेताहरूले बताएका छन्।

खनाल–नेपाल समूहका कार्यदल सदस्य रघु पन्तले हिजोको बैठकमा विवादित विषयहरुमा बुँदागत छलफल भएको र आजको बैठकमा थप छलफल हुने बताए।

एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव र सर्वोच्च अदालतमा रिट दायर गर्दा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता आग्रह गरेको थियो। अहिले कार्यदलमा विशेष गरी त्यही विषयमा केन्द्रित रहेर छलफल भएको छ।

कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। खनाल–माधव नेपालका तर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघु पन्त सदस्य छन्।