केही दिन केही कमजोर भएको मनसुन फेरि सक्रिय भएको छ । गएराति गण्डकी, लुम्बिनी, एक नम्बर र दुई नम्बर प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।
सप्तरीको बर्मजिया र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा ठूलो वर्षा भएकाले बाढीको खतरा बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । माउली खोलालगायत अन्य साना खोलाको तथा नदी तटीय क्षेत्रमा सतर्कता तहसम्मको बाढी आउन सक्ने भएकाले दिउँसोसम्म नै सतर्क रहन आग्रह गरिएको छ ।
काठमाडौंमा अहिले पानी नपरे पनि दिउँसोपछि पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।
आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश–१ र प्रदेश–२ मा ठूलो पानी पर्नेछ ।
प्रदेश–१ मा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
अबको दुई÷तीन दिन नै ठूलो वर्षाको सम्भावना रहेकाले बाढी पहिरो र डुबानको जोखिम छ ।
यसपालि औसतभन्दा धेरै पानी परेको पनि मौसमविद्ले बताएका छन् । मनसुनको सुरुवाती महिनामा नै औसतभन्दा धेरै वर्षा भएको छ ।
प्रतिक्रिया