धनगढी – कञ्चनपुरमा मदिरा सेवनपछि भएको विवाद कुटपिटमा परिणत हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–९ खल्लामछेट्टीका ३२ वर्षीय गणेश बोहराको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कुटपिटपछि घाइते भएका बोहराको उपचारका लागि महाकाली अस्पताल ल्याउने क्रममा सोमबार बिहान ज्यान गएको हो। स्थानीयका अनुसार बोहरा र प्रकाश पालबीच विवाद भएको थियो।
मदिरा सेवनपछि एकआपसमा कुटपिट भएको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले बताए। मृतकका परिवारले बोहराको हत्या भएको भन्दै अनुसन्धानको माग राखेका छन्।
मृत्युपछि आरोपित प्रकाश पालसहित ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए। बोहराको शव महाकाली अस्पतालमा राखिएको छ।
प्रतिक्रिया