देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीलाई प्रतिगमन सफल पार्ने सपना नदेख्न नारायणकाजी श्रेष्ठको चेतावनी

देशान्तर

काठमाडौं – राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई सफल पार्ने सपना नदेख्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन्।

सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै श्रेष्ठले प्रतिगमनलाई कुनै पनि अवस्थामा सफल हुन नदिने भन्दै त्यस किसिमको सपना नदेख्न चेतावनी दिएका हुन्।

उनले मुलुक प्रतिगमन र अग्रगमनको द्वन्द्वबाट गुज्रिरहेको बताए। आफूहरुले एकपटक सरकारको प्रतिगामी कदमलाई असफल पार्न सफल भए पनि प्रतिगमन पूर्ण रुपमा सफल हुन नसकेका कारण प्रतिनिधिसभा दोश्रो पटक पनि विघटन भएको टिप्पणी गरे। उनले भने,‘म चेतावनी दिन चाहान्छु। त्यो कहिलै पुग्ने छैन। त्यस्तो सपना कसैले नदेखे हुन्छ। हामी प्रतिगमनलाई हरहालतमा परास्त गरि छाड्ने छौं।’

उनले राष्ट्रियसभाको अधिवेशनलाई तत्काल अन्त्य गर्नेतर्फ नसोच्न र जनताको आवाज मुखरित गर्ने औजार र थलोको रुपमा सदुपयोग गर्न सभाअध्यक्षको ध्यानाकर्षण गराए।

उनले ‘प्रतिनिधिसभा विघटन भएको अवस्थामा पनि हामी राष्ट्रियसभामा छौं। तत्काल अन्त्य गर्ने दिशा तर्फ नसोचिओस् यसतर्फ ध्यान जाओस्। जनताको आवाज मुखरित गर्ने थलो र संविधान र लोकतन्त्रको रक्षाको निम्ति संघर्ष गर्ने औजार र थलोको रुपमा सदुपयोग गर्नुपर्छ।’

उनले राष्ट्रियसभा अध्यक्षलाई केपी शर्मा ओलीलाई व्यक्तिगत रुपमा सहयोग गर्ने भूमिकाबाट काम नगर्न पनि सचेत गराए। ‘अध्यक्ष ज्यू हिजो कुन पार्टीमा हुनुहुन्थ्यो थाहा छैन तर अहिले सबैको अभिभावक हो। राष्ट्रियसभाको गरिमा, संविधान र लोकतन्त्रको रक्षाको पक्षमा आफुलाई उभ्याउनुहुनेछ भन्ने आशा र अपेक्षा मैले गरेको छु’ श्रेष्ठले भने।

प्रधानमन्त्री ओली स्वार्थ केन्द्रीत महत्वाकांक्षाका कारण संविधान र लोकतन्त्र मात्रै नभई पार्टी र कम्युनिष्ट आन्दोलन पनि समाप्त पार्ने दिशामा अघि बढेको उनले आरोप लगाए। राष्ट्रियसभा सदस्य श्रेष्ठले सबै जनतालाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन तथा कोभिड तेश्रो लहरको पूर्व तयारीमा जुट्न सरकारको ध्यानाकर्षण पनि गराए।