देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हामीसँग बीपी, गणेशमान र किसुनजीको वैचारिक लिगेसी छ

देशान्तर

डा. शशांक कोइराला, नेपाली कांग्रेसको महामन्त्री पदका प्रत्यासी

नेपाली कांग्रेसको महामन्त्री पदमा उम्मेदवार बन्नुभएको छ, तपाईंको उम्मेदवारी केका लागि ?

संविधान कार्यान्वयन अहिलेको हाम्रो मुख्य चुनौती हो । संविधान कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा सबैभन्दा पहिला हाम्रो पार्टीभित्र नीति तर्जुमा हुनुपर्छ । संगठन एक हुनुपर्छ । संगठन अलि कमजोर देखिएको छ । बीपीले नेपाल भनेको गाउँ हो, राजनीति, विकास, शिक्षा, स्वास्थ्य, जागृति सबै गाउँमा हुनुपर्छ भन्नुहुन्थ्यो । युवा वर्गको विदेश पलायनसँगै विकराल स्थिति उत्पन्न भएको छ । यसले रेमिट्यान्स बढाएको होला, तर सामाजिक अस्थिरता पनि भित्रिएको छ । यसलाई सम्बोधन गर्ने कार्यक्रम हाम्रो हुनुपर्छ । अर्को कुरा मसँगै बीपीको विचार, कृष्णप्रसाद कोइरालाको रगत छ तर आम कांग्रेसका नेता कार्यकर्ताको सुझाव निर्देशन आवश्यक छ । यति भएपछि कांग्रेसलाई अगाडि बढाउन सक्छु भन्ने आट लिएर मैले उम्मेदवारी दिएको हँु ।

बीपीको छोराको रूपमा बढी परिचित हुनुहुन्छ । नेतृत्वमा पुगेपछि कांग्रेसलाई कसरी अघि बढाउने सोच्नु भएको छ ?

बीपी भन्ने बित्तिकै विचार हो । अर्को संघर्ष हो । जनताको अधिकारका लागि बीपीले जीवनभर संघर्ष गर्नुभयो । बीपीको पालामा समावेशी शब्द प्रचलनमा थिएन । तर कार्यमा उहाँले समावेशी चरित्रको पार्टी बनाउनुभयो । सरकारको नेतृत्व लिँदा पनि समावेशी बनाउनुभयो । त्यसबेलाको परिस्थितिलाई कल्पना गर्नुहोस् त, बीपीले कस्तो समावेशी समाज बनाउन खोज्नुभएको थियो । यतिखेर त संविधानले सुनिश्चित गरेको छ । त्यतिबेला न संविधानमा थियो, न त त्यस्तो आवाज नै थियो । बीपीले त्यतिबेला जे चाहनुभएको थियो, नेपाल अहिले त्यही चाहनाअनुसार अघि बढिरहेको छ । बीपीले देखाएको समाजवादी बाटोलाई अघि बढाउने मेरो संकल्प हो ।

तर तपाईंलाई राजनीतिमा दु:ख कष्ट गर्ने कार्यकर्तालाई पछि पार्दै पारिवारिक विरासतका कारणमा मात्रै आएको भन्ने गरिन्छ नि ?

मैले भन्ने गरेको छु, मसँग कृष्णप्रसाद कोइरालादेखि बीपी कोइरालासम्मको धरोहर छ । र मैले भन्ने गरेको छु, मसँग विचारको धरोहर नहुने हो भने म एउटा चिकित्सक शशांक कोइरालामात्र हो । तर म अहिले विचारको धरोहर बोकेर बसेको छु । विचारको धरोहर बोक्न नसक्ने कोइराला परिवारका सदस्यहरू कांग्रेसको राजनीतिभन्दा बाहिर छन् । त्यसकारणले भोलि मैले पनि बीपीको विचार बीपीको संघर्ष बिर्संदा मसँग पनि बीपीको विरासत रहँदैन ।

नेपाली कांग्रेसको पदाधिकारी पदमा पहिलोपटक उम्मेदवारी दिनुभएको छ । कस्तो लागिरहेको छ ?

मैले निरन्तर कांग्रेसका तीन/चारवटा महाधिवेशन नजिकबाट हेरेको छु । महाधिवेशन स्वाभाविक रूपमा उत्साहको पर्व हो । हुन त सुशीलदा’को निधनले नेतृत्वमा एक खालको रिक्तता ल्याएको छ । तैपनि हामी सुशील दा’को शोकलाई शक्तिमा रूपान्तरण गर्न चाहिरहेका छौं । महाधिवेशन भन्नासाथ नीति, नेतृत्व र संगठनका सबाल आउँछन् । तीनवटा विषयमा केन्द्रित भएर पार्टीको १३ औं महाधिवेशन अघि बढ्दैछ । यतिबेला मलाईमात्रै होइन, आम कांग्रेसजन र सिंगो मुलुकवासीमा उत्साह छ ।

यो महाधिवेशनमा तपाईंका अलगै एजेन्डा केही छन् त ?

साढे पाँच वर्षमा १३ औं महाधिवेशन हुन्छ । यो बेलामा सबै प्रतिनिधिले म स्वतन्त्र छु भनेर अनुभूति गर्न सक्नु पर्दछ । मतदान गर्दा समेत प्रतिनिधिले इमानदारिता, नैतिकता, विचारलाई सोच्नुपर्दछ । अनि मेरो भविष्य कहाँनेर जोडिएको छ भनेर सोच्नुपर्‍यो । यही सोचेर जसलाई मतदान गरे पनि हुन्छ । यो त पार्टीको आन्तरिक प्रतिस्पर्धा र प्रक्रिया हो । यसमा रणनीति खेल्नेभन्दा पनि हरेक कार्यकर्ता स्वतन्त्र हुन सके राम्रो हुन्छ । कार्यकर्ताहरूले अधिकारको प्रयोग गर्दा आफ्नो भविष्यको ख्याल गर्नुहुन्छ भन्ने मलाई लाग्छ ।

आम कार्यकर्ताको गुनासो त पार्टी एक हुन सकेन भन्ने छ । तपाईं पार्टी एक बनाउँछु भन्दै हुनुहुन्छ । तपाईंसँग के योजना छ पार्टी एक बनाउने ?

मैले भन्दै आएको हो पार्टीमा अब भागबन्डाको अन्त्य गर्नुपर्छ भनेर । मैले भनेको हो भागबन्डाका कारण पार्टी चक्रव्युहमा फसेको छ भनेर । यो चक्रव्युहमा फँसेको कांग्रेसलाई मुक्त गर्नका लागि म अभिमन्यु बन्न पनि तयार छु भनेको हो । त्यसैले आफैं नेतृत्वमा आएपछि मैले कांग्रेसलाई एक ढिक्का बनाउने ठोस प्रयत्न गनुपर्छ र गर्नेछु । हामीले रामचन्द्र पौडेललाई किन सभापतिका रूपमा स्वीकार गर्‍यौं ? पार्टीलाई एक बनाउन रामचन्द्र दाइले मात्रै सक्नुहुन्छ भनेर उहाँलाई रोजेका हौं । रामचन्द्र दाइको साथमा हामी हुँदा सिंगो कांग्रेस एक हुन्छ भन्ने हो । किनभने हामी कोइराला परिवारका सबैजना (सुजाता दिदी, डा.शेखर दा) रामचन्द्र दाइलाई सभापति बनाउने अभियानमा लागेका छौं । बीपी कोइराला, गणेशमानजी र किसुनजीको लिगेसी अहिले रामचन्द्र दाइ र हाम्रो टिममा छ । रामचन्द्र दाइ किसुनजी प्रवासबाट आन्दोलन चलिरहँदा नै किसुनजीको लाइनमा हुनुहुन्थ्यो । उहाँ स्वदेशमा नै बसेर आन्दोलन गर्नुपर्छ भन्ने किसुनजीको लाइनमा हुनुहुन्थ्यो । रामचन्द्र दाइले पनि किसुनजी जस्तै स्वदेशमा नै बसेर आन्दोलन गर्नुभयो । अनि सधंै रामचन्द्र दाइ मध्यमार्गी लाइनको मान्छे हो । उहाँको नेतृत्वमा पार्टी एक ढिक्का भएर अगाडि बढ्छ भन्ने मलाई लागेको छ ।

अर्को भनेको पार्टीलाई एक बनाउन गाउँबाट नै सुरु गर्नुपर्छ । हुन त यो भागबन्डा केन्द्रबाट सुरु भयो । निराकरण पनि १३ औं महाधिवेशनको नतिजाले केही हदसम्म गर्ला । तर भागबन्डाको विभाजन गाउँसम्म पुगेको छ । पहिला संगठनमा सबैलाई आबद्ध गर्नुपर्छ । पार्टीको विचार, मूल्यांकन र अवसरबाट यो भागबन्डाको अन्त्य गर्न सक्छौं । आउँदो चार वर्ष हामीले आम कार्यकर्तालाई कार्यक्रम दिनुपर्छ । प्रशिक्षण सुरु गर्नुपर्छ । मेरो मान्छे र तेरो मान्छे भनेर हेर्नुहुन्न । क्रियाशील र क्षमताका आधारमा मूल्यांकन गर्नुपर्छ । पार्टीको अभिलेख गाउँदेखि नै सुरु गर्नुपर्छ । यो भयो भने भागबन्डा अन्त्य हुन्छ ।

तपाईंको जित्ने आधार के–के हुन् ?

जित्ने भनेको तीन हजार एक सय मतदाताको निर्णयमा निर्भर छ । आम मतदातालाई मत हाल्दा स्वतन्त्र भएको अनुभूति हामीले दिन सक्नुपर्छ । इमानदारिता नैतिकता र निष्ठालाई हेर्नुपर्छ । पार्टीलाई कसरी अघि बढाउने भन्ने मेरो आफ्नै एजेन्डा र खाका छन् ।   कार्यकर्ता र मतदाताहरूलाई भेटेर पनि भनिरहेको छु । मैले जित्नैपर्छ र हार्दा समाप्त भइन्छ भन्ने दृष्टिले पनि हेरेको छैन । धरोहरको निरन्तरता एक ठाउँमा हुन्छ । विचारको नेतृत्व अर्को ठाउँमा हुन्छ । नेपाललाई समृद्ध बनाउन, बीपीको विचारलाई अघि बढाउन पनि कार्यकर्ताहरूले मलाई अघि बढाउँछन् भन्ने लाग्छ ।

 

]]>