देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले बाढी-पहिरोबाट घर गुमाएका ५७२ परिवारलाई ५० हजारका दरले राहत दिने

देशान्तर

काठमाडौं – सरकारले बाढी-पहिरोका कारण घर गुमाएका ५७२ परिवारलाई ५० हजार रुपैंयाँका दरले राहत प्रदान गर्ने भएको छ । आज (आइतबार) राष्ट्रियसभा वैठकमा बोल्दै गृहमन्त्री विष्णुप्रसाद पौडेलले यो वर्षको मनसुनको प्रभावबाट असार १६ गतेसम्म घरमा क्षति पुगेका परिवारलाई अस्थायी बसोबासका लागि जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम उपलब्ध गराइने जानकारी गराए ।

उनले यो वर्षको असार १६ गतेसम्म पूर्ण तथा आंशिक घर क्षति भएका ५७२ परिवारका लागि अस्थायी बसोबास गर्न प्रतिपरिवार ५० हजारका दरले दुई करोड ८६ लाख रुपैयाँ उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जानकारी गराएका हुन् । गृहमन्त्री पौडेलले यो वर्ष मनसुनबाट सिर्जना भएको प्राकृतिक विपत्तिबाट ५६५ घर पूर्ण क्षति भएको, ११२ घरमा सामान्य क्षति पुगेको जानकारी दिएका छन् । उनले क्षतिग्रस्त घरको पुनर्निर्माणमा सरकारले सहयोग गर्ने उल्लेख गरे ।

उनले भने, ‘हालसम्म सिन्धुपाल्चोक मनाङ, लमजुङ गोरखा, कास्की, अर्घाखाँची, खोटाङ तनहुँ, सर्लाही लगायतका जिल्लाहरुमा ५६५ घर पूर्ण रुपमा क्षति भएको छ । ११२ घरमा आंशिक क्षति भएको छ । ३६ सरकारी कार्यालय भवनमा क्षति पुगेको छ । ९ विद्यालय तथा सामुदायिक भवनमा क्षति पुगेको छ ।’

यस्तै सिन्धुपाल्चोक जिल्लाका ७, मनाङका २, चितवनका २ तनहुँमा १ उदयपुर मोरङ र सिरहामा गरी १५ वटा पक्की पुलमा क्षति पुगेको छ । यस्तै विभिन्न जिल्लामा गरेर २३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । ति पुलहरूको निर्माण तथा सडक खुलाउनका लागि सम्वन्धित निकायलाई निर्देशन समेत दिएको उनले बताए ।

सिन्धुपाल्चोकको कोदारी राजमार्ग, मनाङ चामे बेंसीशहर सडक, बाजराको मार्तडी कोल्टी सडक र कुलेखानी हेटौंडा सडकमा भएको अवरोध हटाउने काम जारी रहेको मन्त्री पौडेलको भनाइ छ ।

मनसुनबाट अति प्रभावित सिन्धुपाल्चोक, मनाङसहितका ८ जिल्लामा ८३४ थान टेन्ट, २ हजार ५६ थान त्रिपाल, १९४ थान स्लिपिङ ब्याग लगायतका राहत सामग्री दिइएको जानकारी गराए । मनसुनबाट भएको प्राकृतिक विपत्तिबाट घर गुमाएकाहरुलाई पुनर्निर्माणका लागि व्यवस्था गरिएको मन्त्री पौडेलको भनाइ छ ।