मोरङ – लगातारको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार सप्तकोशी नदीमा शनिबार पानीको बहाव २ लाख ३१ हजार ६ सय ५५ क्युसेक पुगेको छ।
कोशी ब्यारेज कन्ट्रोल रुमले बिहान १० बजे गरेको मापन अनुसार पानीको बहाव सो अवस्थामा पुगेको हो। नदीमा पानीको बहाव उच्च रुपमा बढेसँगै खतराको संकेत रातो बत्ती बालिएको छ।
यससँगै हाल ब्यारेजको ५६ मध्ये ३० वटा ढोका खुला गरिएको छ। नदीमा पानीको बहाव २ लाख ५० हजार क्युसेकमाथि पुगे सतर्क अवस्थामा रहनुपर्ने कन्ट्रोल रुमले जनाएको छ।
यसअघि बिहान ८ बजे गरिएको मापनमा नदीको बहाव २ लाख २१ हजार ४ सय ७५ क्युसेक पुगेको र २९ वटा ढोका खोलिएको थियो।
त्यसअघि बिहान ६ बजे गरिएको मापनमा पानीको बहाव १ लाख ८० हजार रहेको र ब्यारेजको २८ वटा ढोका खुल्ला गरिएको थियो।
प्रतिक्रिया