पर्वत – बेल्जियममा बस्दै आएका नेपालीहरूले पोखरा महानगरपालिको लेखनाथमा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालमा करिब एक करोडको लागतमा अक्सिजन प्लान्ट स्थापना गरेका छन्।
प्रदेश सरकारले कोभिड–१९ का सङ्क्रमितलाई सहज र सुविधाजनक रूपमा उपचार गर्न सकियोस् भन्ने उद्देश्यले स्थापना गरेको यो प्रदेशकै एक मात्र अस्पताल हो।
पर्वत घर भई बेल्जियम बस्दै आएका पर्वतेलीहरू समावेश पुरी फाउण्डेसन तथा एनआरएनए बेल्जियमको नेतृत्वमा आवश्यक रकम संकलन गरी सामग्री खरिद गरिएको फाउण्डेसनका संयोजक संजय गिरीले बताए।
यसमा एनआरएनए बेल्जियम र पोखरा उपमहानगरपालिकाले समेत आर्थिक साझेदारी गरेका थिए। टर्कीमा खरिद गरिएका अक्सिजन प्लान्टका सामग्रीसहित टर्कीकै दुई जना इञ्जिनियरहरू र फाउण्डेसनका निर्देशक बेदराज पुरी पोखरा आएका छन्।
उनीहरूले अस्पतालमै बसेर जडानको काम गरिरहेका छन्।
एनआरएनए बेल्जियम र पोखरा उपमहानगरपालिकाको सहकार्यमा ती सामग्री पोखरा झिकाइएको हो। टर्कीमा खरिद गरिएका ती सामग्री परीक्षण गर्ने तथा नेपाल पठाउन सहयोग गर्ने काम पर्वत फलेवासका अर्जुन कुमार श्रेष्ठले गरेका थिए।
प्लान्टबाट दैनिक ६ हजार लिटर लिक्विड अक्सिजन उत्पादन हुने अस्पतालका निर्देशक डाक्टर विकास गौचनले बताए। फाउण्डेसनको पहलमा स्थापना भएको अक्सिजन प्लान्टले अक्सिजनको अभावमा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ।
प्रतिक्रिया