देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यसकारण उनी महानायक

देशान्तर

भविष्यमा इतिहासविद्हरु नेपालका २०४६ देखि २०६६ सालसम्मका प्रकाशित सामग्रीहरु केलाउँदा आश्चर्य, विस्मय र भ्रमको मिश्रित भावले अभिभूत हुनेछन् । यो दुई दशकभित्र नेपालमा जे–जस्तो भयो, सम्भवतः त्यस्ता घटनाहरु संसारमा कहिल्यै कतै न भएका थिए, र, न भविष्यमा नै कतै हुनेछन् । समय स्वयं बौलाहा बनेको यस कालखण्डभित्र भर्खर दुलोबाट निस्केका एकजना चामत्कारिक बामपन्थीसँग जिन्दगी राजधानीमा विताएका विताएका नेपालको सबैभन्दा ठूलो राजनीतिक दलका कार्यवाहक सभापति एवं मुलुकका प्रधानमन्त्री निर्वाचनमा पराजित भए । उनलाई धुलो चटाउने र सगरमाथामा हँसिया–हथौडा अंकित भण्डा फहराउने यश कमाएका प्रभावशाली नेताको रहस्यमय सडक दुर्घटनामा देहान्त भयो । संसारको सबैभन्दा पहिलो निर्वाचित बामपन्थी सरकारले सिंहदरवार चलायो । कम्बोडियापछि एसियाकै दोस्रो सबैभन्दा हिंस्रक र विध्वंशात्मक बामपन्थी उग्रवादका असरहरुले राष्ट्र तहसनहस भयो र राज्यतन्त्रको सैनिकीकरण शुरु भयो ।

त्यसपछिका घटनाहरु झनै कहालीलाग्दा छन् । राजा वीरेन्द्रको बंशनाशबाट उत्पन्न रिक्तताले अन्ततः शाहराजाहरुको कथालाई इतिहासका पानाहरुमा कैद रहनुपर्ने अवस्थामा पु¥यायो । संसारमा कहिल्यै नदेखिएको अपेक्षाकृत शान्तिपूर्ण जनविद्रोहले गणतन्त्र घोषणा भयो । र, परिपूरक जागृतिका रुमा मधेश विद्रोह शुरु भएपछि संघीयताको मान्यता स्थापित भयो । निर्वाचित माक्र्सवादी–लेलीनवादी सरकार बनाएको रेकर्डलाई निरन्तरता दिदै नेपालले दुनियाँको पहिलो जननिर्वाचित माओवादी सरकार पनि देख्यो । बामपन्थीहरु सजिलै सत्ता छाड्दैनन् भन्ने धारणालाई नेपालका माओवादीहरुले गलत सावित गरिदिए । माक्र्सवादी–लेनिनवादी सरकार पनि संसदीय प्रक्रियाबाट नै बाहिरिएको थियो, माओवादी प्रधानमन्त्री पनि राजिनामा दिएरै विदा लिए । दुबैपटक मुलुकभरि कहीँ–कतै कुनै राजनीतिक अस्तव्यस्तता, हिंसा वा दुर्घटना भएन ।

यति विघ्न उथलपुथल हुँदा पनि नेपालीपन र नेपालीत्व कायम रहनु चानचुने उपलब्धि होइन । नेपालको ऐतिहासिकता, भू–राजनीतिक अवस्थिति एवं अन्तर्राष्ट्रिय समुदायको सद्भावले गर्दा नै मुलुक यस कहालीलाग्दो कालखण्डलाई सहन गर्न समर्थ भएको हो । तर परिस्थिति मात्र सबै कुरा हुँदैन । व्यक्तिको अग्रसरताले समेत परिस्थितिलाई प्रभावित गरिरहेको हुन्छ । नेपाली राजनीतिका एकपछि अर्का पात्रहरु ‘शतरंजका प्यादा’सरी ढलिरहँदा राष्ट्रिय अस्मिताको पहरेदार भएर दुई दशकसम्म लगभग एक्लै लडेका गिरिजाप्रसाद कोइरालालाई ‘महानायक’ नभने अरु के भन्ने त ? उक्त अभिव्यक्तिलाई जीपी कोइारालका लागि चलनचल्तीमा ल्याएको यो पंक्तिकार आलोचकहरुको प्रतिक्रिया देखेर अचम्मित भएको छु ।
गुणदोषको लेखाजोखा

वीपी कोइराला द्रष्टा थिए । त्यसैले लोकतन्त्रप्रेमी नेपालीहरुले उनलाई महामानवका रुपमा सम्झिन्छन् । गणेशमान सिंहको जस्तो दृढता इतिहासका थोरै पात्रहरुमा भेट्टाइन्छ । उनका लागि प्रयोग हुने गरेको लौहपुरुष सम्बोधन भाव र अर्थ दुवै दृष्टिकोणले उपयुक्त छ । जीपी कोइरालाको विशेषता के हो भने उनी आफ्ना प्रयत्नबाट समान्य कार्यकर्ताबाट महानता हासिल गर्ने संसारका थोरै राजनीतिकर्मीहरुमध्ये एक हुन् ।

भ्रष्टाचारको आरोप ठूला भ्रष्टाचारीहरु आफू साखुल्ले बन्न सार्वजनिक जीवनमा रहेका शक्तिशाली तर पारदर्शी जीवन विताउने व्यक्तिहरुमाथि थोपर्ने गर्दछन् । त्यसको अर्थ जीपीको जीवन दूधले धोइएको स्फटिक थियो भन्ने होइन । तर उनी औसत नेपाली राजनीतिकर्मीहरुभन्दा सम्भवतः अपेक्षाकृत स्वच्छ थिए । त्यसो नभइदिएको भए मन्त्रिपरिषद्का अध्यक्ष ज्ञानेन्द्र शाहको शाही–सैनिक सत्ताले उनलाई बाँकी राख्ने थिएन ।

जीपीमाथि लगाइने गरिएको नातावाद–कृपावादको आक्षेप पनि नेताबाट देउता जस्तो चरित्र अपेक्षा गरेकाले मात्र उत्पन्न भएको हो । दक्षिण एसियाका प्रभावशाली राजनीतिक परिवारहरुको तुलनामा तीन प्रधानमन्त्री दाजुभाई प्रस्तुत गरेको कोइराला खलक खासै अनन्य छैन । बरु जीपीको कृपावादबाट लाभान्वित भएका उनका पूर्व अनुयायीहरुलाई देख्दा लाग्छ, व्यक्ति पहिचान गर्ने उनको क्षमता सम्भवतः अलि कमजोर थियो ।

अनि के जीपी अक्षम थिए ? उनलाई पटक–पटक पार्टी निर्वाचित अध्यक्ष एवं प्रधानमन्त्री बनाएर के नेपालीले अक्षम्य भूल गरेका हुन् ? युरोप–अमेरिका पढेका केही स्वनामधन्य बुद्धिजिवी, पत्रकार वा नागरिक अगुवाहरुको प्रतिकृया देख्दा त्यस्तो पनि लाग्न सक्दछ । तर ऐतिहासिक व्यक्तित्वहरुको मूल्याङ्कन तिनले उत्पन्न गराएका प्रभावले मात्र नभई प्रयत्नको तिक्ष्णता, इमानदारिता, निरन्तरता एवं समर्पणबाट पनि हुने गर्दछ । त्यस दृष्टिकोणबाट हेर्दा जीपीका असफलताहरु उनको भगीरथ प्रयत्नको तुलनामा गौण लाग्न सक्दछ । असफल तर महाभारतको युद्ध रोक्न ज्ञानी विदुर, पराक्रमी भीष्म एवं विद्धान कृपाचार्य पनि भएका थिए । तिनका कीर्तिका अगाडि शिखण्डीको त के कुरा, स्वयं धर्मराज युधिष्ठिरसमेत नतमस्तक हुन बाध्य हुन्छन् ।

जीपी महाभारतकै सबैभन्दा तेजस्वी पात्र कर्णसरह रहे । माओवादीरुपी युद्धपिपासु दुर्योधनलाई मानवीकीकरण गर्ने प्रयत्नमा उनको जुझारु छविसमेत धुमिल हुने परिस्थिति उत्पन्न भयो । परिवन्दले उनलाई अचम्मका घटना परिघटनाहरुको मूक साक्षी बस्न बाध्य बनायो । तर, कर्ण सूर्यपुत्र छन्, कुन्तीपुत्र छन् । र, उनको कीर्तिका अगाडि अर्जुन दयनीय पात्र जस्तो देखिन्छन् ।
महानायकको एउटा परिभाषा के हो भने त्यस्तो पात्र मात्र आफ्नो पराक्रमले गर्दा अमर बन्न पुग्दछ । महाभारतका कर्ण आफ्नो कवच र कुण्डल दान गर्दछन् । र, निरीह महाबलि मात्र आफ्नो शौर्य र वीरताका साथ ऐतिहासिक युद्धमैदानमा उत्रिन्छन् ।

जीपीका लागि संवैधानिक राजतन्त्र र हिन्दूराष्ट्र नेपाली कांग्रेस र बीपीबाट पाइएका कवच र कुण्डलसरह थिए । उनी अजेय थिए, ती दुई आभूषण रहेसम्म । तर, उनले विजय होइन, अमरत्व रोजे । नेपाली जनताको विजयका अगाडि आफ्नो पराजयलाई गौण ठह¥याए । र, कवच–कुण्डलविहीन युद्धमैदानमा उत्रिएर वीरताका गाथाहरु निर्माण गरे । त्यस्तो पात्रलाई ‘महानायक’ नभने त्यो शब्दको अर्थ नै के रहन्छ र ?

नेपालको इतिहासमा स्वाभिमानी भीमसेन थापाको दुःखद् अन्त हुन्छ । जंगबहादुर सफल कहलिन्छन् । राजा त्रिभुवन निराश र हतास भएर वित्छन् । महेन्द्रको गुणगान हुन्छ । तर, आधिकारिक इतिहासको समानान्तर चल्ने सार्वजनिक सम्झनाको पनि आफ्नै गीत हुन्छ । त्यहाँ कृष्णप्रसाद कोइराला छन् । दुर्गानन्द झा छन् । अन्य कैयन् नेपाल आमाका सपूतहरु छन्, जसले आफ्नो जीवनकालमा सफलता देखेनन् । तर, तिनीहरु थिए । त्यसैले हामी छौं । महानायक कहलिन सर्वगुण–सम्पन्न हुनुपर्द भन्ने छैन । परिस्थितिसँग संघर्ष गर्न कहिल्र्य पछि नहट्ने व्यक्ति नै महानायक हुन्छ । र, त्यसैले जीपी कोइराला नेपाली राजनीतिका महानायक हुन् ।

(विश्लेषक सिकेलालको प्रस्तुत आलेख ‘गिरिजाप्रसाद कोइराला श्रद्धाञ्जली विशेष’ पुस्तिकाबाट लिइएको हो ।)