देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बीपी प्रतिष्ठानका चार शीर्ष पदाधिकारीलाई बर्खास्त गर्न डा केसीको माग

देशान्तर

काठमाडौँ — चिकित्सा शिक्षा अभियन्ता डा। गोविन्द केसी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शीर्ष ४ पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै डा। केसीले पदाधिकारीहरूको कार्यशैलीकै कारण पूर्वी नेपालको स्वास्थ्य सेवा तथा देशकै मेडिकल शिक्षाको धरोहरका रुपमा स्थापना भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले धराशायी हुने अवस्थामा पुगेको बताएका छन् । भ्रष्ट र दलीय आधारमा प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरिएकाले पनि यस्तो अवस्था आएको उनको भनाइ छ ।

 

डा। केसीले विज्ञप्तिमा भनेका छन्, दलीय वफादारिताका आधारमा पदमा पुग्ने नालायक र भ्रष्ट पदाधिकारीहरु रहेकोमा कसैको विमति छैन । त्यसमाथि पनि धरानस्थित प्रतिष्ठानको नजिकै खुलेका निजी मेडिकल कलेज र अस्पतालहरुका स्वार्थका लागि प्रतिष्ठान डुबाउन स्वयम् प्रधानमन्त्री र उनका स्वास्थ्यमन्त्रीहरु लागेको कुरा बारम्बार मिडियामा सार्वजनिक भइरहेको छ । प्रधानमन्त्री ओली आफैं बीपी प्रतिष्ठानलाई डुबाएर नजिकैका निजी अस्पतालहरुको उद्घाटन गर्दै हिंडेका छन् ।

पछिल्लो समय प्रतिष्ठानको सुधारका लागि चिकित्सक, विद्यार्थी र कर्मचारीहरु आन्दोलनरत छन् । डा। केसीले बीपी प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरुले थप एक मिनेट पनि पदमा रहने नैतिकता र वैधता गुमाइसकेको बताएका छन् । उनीहरुले तत्काल पद खाली गर्नुपर्ने र पदाधिकारी मापदण्ड निर्धारण समितिले सुझाव दिएअनुसार वरिष्ठता, इमान्दारी र योग्यताका वस्तुगत आधारमा नयाँ पदाधिकारी नियुक्त गर्नुपर्ने पनि डा। केसीको माग छ ।