देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गैंडाकोटमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

देशान्तर

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ ।

सडक विस्तारका लागि नवलपरासी ९बर्दघाट(सुस्तापूर्व०को गैँडाकोटस्थित थुम्सीमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो ।

सडक विस्तारका लागि निर्माण गरिएका सात वटा डाइभर्सनमध्ये बाढीले चार वटा बगाएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गएरातिदेखि नै अविरल वर्षाका कारण आएको बाढीले डाइभर्सन बगाएपछि आज बिहानदेखि नै राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग अवरुद्ध भएपछि सयौं गाडी गैंडाकोट र रजहरमा रोकिएका छन् । सडक भत्किएकै स्थानमा जाम नहोस् भनेर दुवैतर्फका गाडी त्यहीँ रोकिएको प्रहरीले जनाएको छ ।

अहिले पनि पानी परिरहेका कारण डाइभर्सन पुनःनिर्माण गरेर सडक सञ्चालन गर्न कठिन भएको उनको भनाइ छ ।

सडकदेखि उत्तरतर्फको भागसमेत बाढीले डुबाएपछि त्यहाँको पानीको सतह नघटेसम्म डाइभर्सन बनाउन कठिन हुने प्रहरीको अनुमान छ ।

राजमार्ग फराकिलो पार्ने क्रममा गैंडाकोट र भेडाबारीबीचको जङ्गलमा पुराना पुल भत्काएर चारवटा डाइभर्सन बनाइएको थियो ।