काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यको बैठक शुरू भएको छ ।
शुक्रबार बोलाइएको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुने– नहुने निर्क्यौल गर्न माधव पक्षधरका नेता हिजोदेखि छलफलमा जुटेका छन् । विशेषगरी जेठ २ अघिको एमालेको मात्र बैठक बस्नुपर्ने भन्दै नेपाल पक्षमा भोलिको बैठकमा जान नहुने मत धेरैको छ ।
बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा नेता नेपालसहित भीम रावल भीम रावल, अष्टलक्ष्मी शाक्य र घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेता सहभागी छन् ।
केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षलाई पनि सहभागी गराउन दुवै पक्षका नेताहरू हिजोदेखि छलफलमा जुटेका छन् । वार्तामा सहभागी नेताहरुमार्फत भोलिको बैठक पर सार्न माधव नेपाल पक्षको आग्रह छ ।
बुधबार महाधिवेशन आयोजक कमिटी भंग गरी एमालेले २०७५ जेठ २ अघिकै पदाधिकारीका हैसियतमा माधव नेपाल पक्षसहितको बैठक बोलाएको छ । सो बैठकलाई एमाले एकताको ‘डेडलाइन’ भनिएको छ ।
स्थायी कमिटी तथा आफ्नोपक्षीय केन्द्रीय सदस्यहरूसँगको छलफलको निष्कर्षपछि मात्र माधव पक्षले केन्द्रीय बैठकमा सहभागी हुने वा नहुने नेताहरूले बताएका छन् ।
प्रतिक्रिया