बेल्जियम र चेक रिपब्लिक युरो २०२० फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको खेलमा साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
स्पेनमा भएको खेलमा बेल्जियमले पोर्चुगललाई १–० गोलले हराउँदै अन्तिम आठमा पुगेको हो । खेलको ४२ औं मिनेटमा बेल्जियमका थोर्गन हाजार्डले गरेको गोल नै निर्णायक भयो । योसँगै डिफेन्डिङ च्याम्पियन रहेको पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको छ । अब बेल्जियमले क्वाटरफाइनलमा इटलीसँग खेल्नेछ । अस्ट्रियालाई हराउँदै इटली क्वाटरफाइनलमा पुगिसकेको छ ।
यस्तै आइतबार राति नै भएको अर्को खेलमा नेदरल्याण्ड्सलाई २–० ले हराउँदै चेक रिपब्लिक युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । हङ्गेरीमा भएको खेलमा चेक रिपब्लिकले १० खेलाडीमा सीमित नेदरल्याण्ड्सलाई २–० गोलले पराजित गरेको हो । चेक रिपब्लिकका लागि टोमस होल्स र प्याट्रिक सिकले एक एक गोल गरेका थिए ।
खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्याण्ड्स १० खेलाडीमा समेटिएको थियो । चेक रिपब्लिकका टोमसले खेलको ६८ औं मिनेटमा र सिकले ८० औं मिनेटमा गोल गरे ।
अब क्वाटरफाइनलमा चेक रिपब्लिकले डेनमार्कसँग खेल्नेछ । डेनमार्कले वेल्सलाई हराएर अन्तिम आठमा स्थान बनाएको थियो ।
प्रतिक्रिया