देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनगणनाको तथ्याङ्क सङ्कलन साउनको अन्तिम हप्तादेखि सुरु गर्ने तयारी

देशान्तर

काठमाण्डौ – केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सङ्कलन कार्य साउनको अन्तिम हप्तादेखि सुरु गर्ने तयारी गरेको छ । साउनको अन्तिम हप्तादेखि तथ्याङ्क सङ्कलन सुरु गरेर असोजको पहिलो हप्तामा सक्ने गरी तयारी भएको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिए।

जनगणना सुरु गर्नको लागि तयार भएको प्रस्ताव भोलि बस्ने निर्देशक समितिको बैठकमा लैजाने र निर्देशक समितिले प्रस्ताव स्वीकृत गरेमा प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा जानेछ । मन्त्रिपरिषद्बाट स्वीकृति दिएमा आफूहरु साउनको अन्तिम हप्तादेखि तथ्याङ्क सङ्कलनका लागि तयार रहेको रेग्मीले जानकारी दिए।

गएको वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले बढ्दो कारोना सङ्क्रमणका कारण असहज परिस्थिति निर्माण भएको भन्दै जनगणनाका सम्पूर्ण गतिविधि स्थगन गर्ने निर्णय गरेको थियो । कोरोना सङ्क्रमण केही घटेर जनजीवन सामान्य बन्न थालेपछि तथ्याङ्क विभागले जनगणना निर्देशक समितिको बैठक बोलाएको होे । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अध्यक्ष रहने तथा विभिन्न मन्त्रालयका सचिव तथा विश्वविद्यालयका जनसङ्ख्या र तथ्याङ्क विभागका प्रमुख सदस्य रहने गरी निर्देशक समिति गठन गरीएको छ ।

जनगणनाका लागि कार्यालय स्थापनाको काम सकेर सामग्री व्यवस्थापन अन्तर्गत प्रश्नावली, निर्देशिका, कापी, कलम, तालिम सामग्रीहरू जिल्ला र प्रदेशका कार्यालयमा पठाइसकिएको विभागले जनाएको छ । झण्डै ९ हजार सुपरिवेक्षकको छनोट गरिसकिएको छ । उनीहरूमध्ये केहीले ६ दिने तालिम लिइसकेका छन् भने केहीले आधा तालिमकै क्रममा निषेधाज्ञाका कारण तालिम पूरा गर्न पाएका छैनन् ।

उनीहरूलाई नै फेरि १र२ दिनको पुनर्ताजगी तालिम दिने र कार्यक्षेत्रमा खटाउने विभागको तयारी छ । यस्तै ४० हजार गणकको छनोट र नियुक्ति प्रक्रिया पनि अन्तिम चरणमा रहेको छ । केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा गर्ने राष्ट्रिय जनगणना १९६८ सालदेखि सञ्चालन गर्दै आएको छ । यसको बाह्रौँ श्रृङ्खला अहिले सञ्चालन हुँदैछ ।