काठमाण्डौ – गृह मन्त्री विष्णुप्रसाद पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारीअनुसारको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताए । शुक्रवार गृह मन्त्रीका रूपमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले आफूले मन्त्रीको रूपमा गृह प्रशासन र प्रहरीलाई कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने भन्दै जवाफदेही भएर आ–आफ्नो परिभाषित काम गर्न सबै स्वतन्त्र रहेको बताएका छन् ।
उनलेआफूसहित गृह सचिवले पनि कुनै प्रकारको हस्तक्षेप नगर्ने बताएका छन् । संवैधानिक व्यवस्था र कानुनी प्रबन्धका आधारमा आफ्नो जिम्मेवारी पूरा गर्न उहाँले निर्देशन दिनुभयो । मन्त्री पौडेलले नतिजामुखी काम आफूले खोजेको पनि जानकारी दिए ।
उनले भने ‘मैले काममा हस्तक्षेप गर्ने कुरामा विश्वास गर्दिनँ । हरेक व्यक्ति आफ्नो कामप्रति, परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ । कामप्रति जवाफदेही हुने, परिणामप्रति जवाफदेही हुने, त्यही हिसाबले अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्छु । यहाँहरूले आ–आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्नका निम्ति यहाँहरू सबै स्वतन्त्र हुनुहुन्छ । कुनै प्रहरी सङ्गठनका प्रमुखलाई, सुरक्षा निकायका प्रमुखलाई मन्त्रीले कुनै प्रकारको हस्तक्षेप गर्दैन । गृह सचिवले हस्तक्षेप गर्दैन । संवैधानिक व्यवस्था, कानुनी प्रबन्ध र स्थापित प्रणालीहरू छन्, त्यसका आधारमा आ–आफ्ना जिम्मेवारी पूरा गर्नका निम्ति यहाँहरू सबै स्वतन्त्र हुनुहुन्छ । मलाई नतिजा चाहिन्छ । नतिजाप्रति जवाफदेही भएर, जिम्मेवार भएर यहाँहरूले काम गर्नुपर्छ भन्नेमा पनि मान्यता राख्छु ।’
मन्त्री पौडेलले सरुवा, बढुवा तथा थमौतीका लागि एक जना प्रहरी पनि आफू कहाँ नआउनका लागि निर्देशन गरेका छन् । आफू मन्त्रीको हैसियतमा गर्नुपर्ने निर्णय र निर्देशनका लागि जिम्मेवार भएको भन्दै उहाँले प्रहरी प्रमुखका हैसियतले गर्ने काममा प्रमुख स्वतन्त्र भएर काम गर्न सक्ने बताए ।
उनले भने , ‘म कहाँ एउटा पनि पुलिस नआओस् । अन्याय भयो भनेर साँच्ची नै अन्याय अनुभूत गरेर आउँछ भने त्यो उजुरी सुन्नका लागि म तयार छु । नभए प्रमोशनका निम्ति, थमौतीका निम्ति, सरुवा, बढुवाका निम्ति अथवा स्वदेश, विदेश पठाउने अवसरका निम्ति कुनै एउटा पुलिस म कहाँ नआओस् । प्रहरी सङ्गठनका प्रमुखका हैसियतले गर्नुपर्ने कामका निम्ति उहाँहरू स्वतन्त्र हुनुहुन्छ । मेरो जिम्मेवारी सहजीकरणको हो । हामीले गर्नुपर्ने निर्णय, निर्देशनका लागि हामी जवाफदेहीरजिम्मेवार छौँ, त्यस ढङ्गले गर्नेछौँ । त्यसबाहेकका सबै काम यहाँहरूले गर्नुपर्दछ ।’
उनले राजनीतिक परिस्थितिको प्रभाव गृह मन्त्रालयमा पर्न नहुने पनि बताएका छन् । अदालतमा भएका मुद्दा र वर्तमान राजनीतिक परिस्थितिको प्रभावमा नपरिकन आफ्नो काम गर्न पनि उनले निर्देशन दिए
।
मन्त्री पौडेलले आफू मन्त्रालयको कामका साथै राजनीतिक काममा पनि लाग्नुपर्ने भएकाले मन्त्रालयमा समय दिन नसक्ने बताए । उनले गृह सचिवसँग दिनमा एक पटक भेट गर्ने भन्दै प्रहरी प्रमुखलाई आवश्यक परे मात्रै भेट्न अन्यथा गृह सचिवसँगकै समन्वयमा काम गर्न निर्देशन दिएका छन् ।
प्रतिक्रिया