देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अन्तर्राष्ट्रिय उडान भोलिदेखि, आन्तरिक असार १७ गतेबाट

देशान्तर

काठमाडौं – आउँदो असार १७ गतेदेखि आन्तरिक उडान खुला गरिने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्नका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्राधिकरणले उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई सेवा प्रदायकहरूलाई उडान अनुमति दिनेछ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्दै थप स्पष्टको लागि उड्डयन मन्त्रालयलाई निर्देशन दिएको थियो ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले आगामी असार १७ गतेदेखि आन्तरिक उडान हुने जानकारी दिए । उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान हुने उनले बताए । निषेधाज्ञा अगाडि जति संख्यामा आन्तरिक उडान हुन्थ्यो त्यसको ५० प्रतिशत मात्रै उडान हुने भएको हो । विमान कम्पनीहरूले शत प्रतिशत अकुपेन्सीमा यात्रु उडान सक्छन् ।

यस्तै मन्त्रालयले अन्तर्राष्ट्रियतर्फको उडान सार्वजनिक गर्न पनि प्राधिकरणलाई भनेको छ । मन्त्रालयका अनुसार नेपाल वायुसेवा निगमले २४, २७ र २९ जुनमा दोहा, २५ जुनमा जापान, २८ र ३० जुनमा दुबई उडान गर्नेछ ।

मन्त्रालयले हिमालय एयरलाइन्सलाई दुबई, क्वालालम्पुर, दमामका लागि उडान संचालन गर्न अनुमति दिएको छ । विदेशी एयरलाइन्सतर्फ कतार एयरवेज, टर्किस, जजिरा, फ्लाइ दुबई, सलाम र एयर अरेवियालाई पनि उडान अनुमति दिएको छ । एयर इन्डियाले जुन २५ उडान गर्नेछ ।