काठमाडौँ — कोरोना संक्रमितको संख्या घट्दै गएकाले शिक्षण संस्थाहरूले निषेधाज्ञाका कारण रोकिएका परीक्षा पुनः सञ्चालनको तयारी थालेका छन् । विश्वविद्यालय, चिकित्सा शिक्षा र कक्षा १२ सहित विभिन्न परीक्षा सञ्चालनको पूर्वतयारी भइरहेको हो ।
चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायत स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएममी सँग स्वीकृति मागेको छ । असारको अन्तिम साता परीक्षा सञ्चालन गर्न स्वीकृति मागिएको आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जानकारी दिएका छन्।
अवस्था सहज रहे असार मसान्तसम्म कक्षा ११ र भदौ अन्त्यसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
गत वर्षदेखि कक्षा ११ को परीक्षा विद्यालयले नै लिन थालेका छन् ।
साउन मसान्तसम्म कक्षा १० को आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गर्ने तयारी छ । कक्षा ११ को परीक्षा सञ्चालनसम्बन्धी कार्यविधिअनुसार सामान्य अवस्थामा असार मसान्तसम्म परीक्षा लिनुपर्छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले संक्रमण दर घट्दै गए विद्यालयले आफ्नो अनुकूलतामा परीक्षा लिन सक्ने बताए।
बोर्डले कक्षा ११ का विद्यार्थीलाई एक साताभित्र सिम्बोल नम्बर र रजिस्ट्रेसन नम्बर उपलब्ध गराउने जनाएको छ । कक्षा १२ को हकमा भने भदौसम्म सकभर पहिले जस्तै लिखित परीक्षा नै सञ्चालन गर्ने योजना बनाइएको अर्यालले जानकारी दिए ।
भदौमा परीक्षा सञ्चालन गर्न सके दसैं, तिहार पछाडि सामान्य अवस्थामा झैं विश्वविद्यालयहरूले स्नातक तहको नयाँ शैक्षिक सत्र थाल्न पाउने विज्ञहरू बताउँछन् । गत जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गरिएको थियो । करिब ४ लाख विद्यार्थी १२ को परीक्षाको तयारीमा छन् । असार १५ गतेसम्मको अवस्था हेरेर परीक्षाको मोडालिटीबारे निर्क्योल गरिने सदस्यसचिव अर्यालले जनाए । सकभर भौतिक उपस्थितिमा र नभए अरू विकल्पमा पनि परीक्षा सञ्चालनका लागि योजना बनाइएको उनको भनाइ छ
प्रतिक्रिया