देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसियन महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित १२ टिम सहभागी हुने

देशान्तर

काठमाडौं – २१औं संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित १२ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

आगामी भदौमा फिलिपिन्समा आयोजना हुने च्याम्पियनसिपमा १२ टिमले प्रतिस्पर्धा गर्ने एसियन भलिबल कन्फ्रेडेरेसनले जनाएको छ । नेपालको महिला टिमले पहिलो पटक एसियन च्याम्पियनसिप खेल्न लागेको हो ।

नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले १२ टिमले च्याम्पियनसिप खेल्ने पक्का भएको जानकारी दिए । यसअघि च्याम्पियनसिप चीनमा आयोजना हुने र १६ टिमले प्रतिस्पर्धा गर्ने भनिएको थियो । तर चीनले आयोजकबाट नाम फिर्ता लिएपछि फिलिपिन्स नयाँ आयोजक बन्यो ।

फिलिपिन्सले पनि प्रतिस्पर्धा गर्ने भएपछि एक टिम थपियो । १५ मध्ये चीनसहित ५ राष्ट्रले नाम फिर्ता लिएका छन् ।

अब १२ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्नेछन् । जसमा आयोजक फिलिपिन्स, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, कजाकस्तान, ताइपेई, इरान, अष्ट्रेलिया, भारत, नेपाल, उज्वेकिस्तान र हङकङ छन् । चीन, इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्यूजिल्याण्डले भने नाम फिर्ता लिए छन् ।

एसियन महिला भलिबल च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ अर्थात् भदौ १३ देखि २० गतेसम्म आयोजना हुनेछ ।

यसका लागि नेपालको महिला टिमले असार १ गतेदेखि बन्द प्रशिक्षण सुरु गरिसकेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भइरहेको बन्द प्रशिक्षणमा ३० खेलाडी सहभागी छन् । गत चैतमा भएको एनभीए कपमा गरेको प्रदर्शनको आधारमा एनभीएको छनोट समितिले ३० खेलाडीसहित ५ जना वैकल्पिक खेलाडी छनोट गरेको थियो ।

पहिलो पटक एसियन च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपालका लागि यो ठूलो अवसर भएको कप्तान अरुणा शाहीले बताइन् ।

नेपालको महिला टिमले २०७६ सालमा भएको पहिलो एभीसी सेन्ट्रल जोनको उपाधि जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । त्यही वर्ष नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा पनि महिला टिमले ऐतिहासिक रजत पदक जितेको थियो ।

पछिल्लो समय महिला भलिबलले अन्तर्राष्ट्रिय क्षेत्रमा हासिल गरेको उपलब्धिका आधारमा नेपाल भलिबल संघले एसियन भलिबल च्याम्पियनसिपमा महिला टिमलाई खेल्न पठाउने निर्णय गरेको हो ।