काठमाडौँ – धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितता भएको भन्दै चिकित्सक, विद्यार्थी र कर्मचारी चार दिनदेखि आन्दोलनमा उत्रिएका छन् । बेथितिको आवाज उठाउने चिकित्सकसँग धम्कीसहित स्पष्टीकरण मागिएपछि आन्दोलन थप चर्किएको छ ।
शृंखलाबद्ध रूपमा भइरहेको अनियमितता र भ्रष्टाचार व्यवस्थापनले बेवास्ता गरेको भन्दै एसोसिएट प्रोफेसर डा। विष्णु पोखरेलले गत २६ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलाई म्यासेज गर्दै उजुरीको प्राथमिकताका साथ छानबिन गरिदिन म्यासेज पठाएका थिए ।
‘सर नमस्कार, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनियमितता र भ्रष्टाचारसम्बन्धी उजुरीको प्राथमिकताका साथ छानबिन तथा कारबाही गर्नुहोला । एउटा राष्ट्रिय गौरवको प्रतिष्ठान धराशायी बन्दै छ, केही गर्नुहोस्,’ पोखरेलले भनेका थिए । उनले प्रतिष्ठानको स्तर खस्कँदै गएको र व्यवस्थापनबाट सुधारको पहल नभएको विषयमा सामाजिक सञ्जालमा पनि लेखेका थिए ।
प्रतिष्ठानको छविमा आँच आउने क्रियाकलाप गरेको भन्दै डा। पोखरेलसँग ३० जेठमा उपकुलपति डा। ज्ञानेन्द्र गिरीले स्पष्टीकरण सोधेका थिए । राजनीतिक रवाफको आडमा गिरीले अनियमितताबारे आवाज उठाउनेलाई धम्क्याउने नियतले स्पष्टीकरण सोधेको चिकित्सकहरूको भनाइ छ ।
प्रतिष्ठान संयुक्त संघर्ष समिति ११ सूत्रीय माग अघि सार्दै चार दिनदेखि आन्दोलनरत छ । उपकुलपतिले आफ्नो शैक्षिक योग्यतामाथि उठेको प्रश्नबारे स्पष्ट पार्नुपर्ने, तीन वर्षदेखि रोकिएको फ्याकल्टी शिक्षकको बढुवा प्रक्रिया, स्वास्थ्यकर्मीको कोभिड भत्ता, शिक्षक तथा प्राध्यापकको तालिम तथा सेवा–सुविधा, इन्टरनेट, अस्पतालमा बिग्रिएका उपकरण बनाउनुपर्नेलगायतका मागहरू समितिले अगाडि सारेको छ । माग सम्बोधन नभए सामूहिक राजीनामाको चेतावनी चिकित्सकहरूले दिएका छन् ।
अनियमितताविरुद्ध हामीले दुई वर्षदेखि लगातार आवाज उठाइरहेका छौँ । सञ्चारमाध्यममा लगातार उठिरहेका सवालहरूको स्पष्टीकरण दिन मात्रै अनुरोध गरिरहेका थियौँ । सूचनाको हक प्रयोग गर्दा धम्क्याउने नियति प्रकट भएको छ । पदाधिकारीहरूले पटक–पटक चिकित्सकहरूका आधारभूत सेवा–सुविधाबारे लिखित सम्झौता गरेका छन् ।
तर, हामी त्यसमा पनि ठगिएका छौँ,’ आन्दोलनका संयोजक डा। सूर्यप्रसाद रिमालले भने, ‘एउटा मात्र नभई हरेक क्षेत्रमा भ्रष्टाचार मात्रै भएको देखिन्छ । हाम्रो सदासयतालाई माध्यम बनाएर ठगिरहेका छन्, नैतिकताको हामीले मात्रै ठेक्का लिएको हो र रु नैतिकताका आधारमा हामीले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सेवा ठप्प गर्न मिल्दैन, तर माग पूरा नभएमा सामूहिक राजीनामा दिन तयार हुन्छौँ ।’
संघर्ष समितिले उपकुलपति डा। ज्ञानेन्द्र गिरीको शैक्षिक योग्यतामा समेत प्रश्न उठाएको छ । प्रतिष्ठानकै चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले गत ३ जेठमा उपकुलपतिलाई आफ्नो शैक्षिक योग्यता प्रमाणित गरिदिन पत्र बुझाएको थियो । तर, उपकुलपति डा। गिरीले त्यसमा चासो नदेखाएको आन्दोेलनरत चिकित्सकहरूको भनाइ छ ।
प्रतिक्रिया