सुदूरपश्चिम – कोरोना भाइरस सङ्क्रमणको जोखिम झेलिरहेका नागरिकलाई केही दिनदेखिको मनसुनी वर्षासँगै भइरहेका प्राकृतिक विपद्का घटनाले थप समस्या खेप्नु परेको छ । मनसुनी वर्षा सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्याले धनजनको क्षति पुगेको छ । प्राकृतिक विपद् र कोरोना सङ्क्रमणको जोखिमका बीच कैलाली, कञ्चनपुरलगायतका जिल्लामा भने यतिबेला बर्खे धान बालीको रोपाइँ गर्ने चटारो छ ।
रोपाइँ गर्न पुग्ने गरी वर्षा भएपछि किसालाई रोपाइँ गर्ने चटारो भएको हो । कैलाली र कञ्चनपुरमा अहिलेसम्म वर्षाका कारण कुनै त्यस्तो प्राकृतिक विपद् नदेखिए पनि नदीतटीय क्षेत्रका वासिन्दा कतिबेला आफूहरु बाढी र डुबानको चपेटामा परिने हो भनेर त्रासमा देखिन्छन् । स्थानीय किसान रामदिन चौधरीले भने, ‘‘कोरोनाको जोखिम यथावत छ, नदीमा पानीको सतह बढ्दा हुन सक्ने डुबानको समस्याबाट तटीय क्षेत्रका किसान त्रासमा देखिन्छन् ।’’ आम्दानी गर्ने र जीविका चलाउने मुख्य स्रोतको रुपमा बर्खे धान खेती रहेकाले रोग सङ्क्रमण र विपद्को जोखिमका बीच पनि धान रोपाइँ गर्नै पर्ने वाध्यता रहेको अर्का किसान नवराज पाण्डेय बताउछन् ।
‘‘धेरै जिल्लामा बाढी, डुबान, पहिरो आएको खबर सुनिन्छ, कोरोनाको त्रास पनि रोकिएको छैन,तर अहिले खेती नगरे जीविका चलाउनै मुश्किल हुने भएकाले खेतीको काम गर्नै पर्ने अवस्था छ’’, धनगढी उपमहानगरपालिका-१३ का कृषक पाण्डेयले भने । कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान बिक्री गरेर घर खर्चको जोहो गर्ने गरेका छन् ।
धान रोपाइँ गर्ने, काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग पनि पछिल्ला वर्षमा बढ्दै गएको छ । यी औजारको प्रयोगसँगै समयको बचत हुनुका साथै परिश्रम समेत कम लाग्ने हुँदा रोपाइँ गर्न सहज भइरहेको किसान रामदिन बताउछन् । ‘‘खेती गर्न र कृषि उपज ढुवानी गर्दा पहिलेको जस्तो राँगा र गोरु गाडाको प्रयोग घटेर आधुनिक मेसिनको प्रयोग बढ्दा निकै सहज भएको छ,’’ चौधरीले भने, ‘‘समयमै मलखाद, बीऊबिजन, सिँचाइजस्ता समस्या भने यथावत रहेको छ ।’’
वर्षाको पानीले रोपाइँ गरौँला भन्ने आशमा बस्नु पर्ने अवस्थामा रहेका तराईका कृषकहरु पाँच दिनयता भइरहेको मनसुननी वर्षापछि हौसिएका छन् । तराईका अधिकांश कृषक सिँचाइको भरपर्दो सुविधा नहुँदा आकासे पानीको भरमा रोपाइँ गर्दै आएका छन् । प्रदेशका पहाडी क्षेत्रका जिल्लामा भने गएको जेठ महिनादेखि नै रोपाइँ शुरु भएको थियो । पहाडी जिल्लाका गाउँवस्तीमा छरछिमेकीले आपसमा मिलेर पालैपालो रोपाइँ गर्नु पर्ने पर्मको प्रचलन छ । पर्मको प्रचलनले रोपाइँ गर्दा सम्बन्धित कृषकलाई नगद खर्च गर्नु पर्ने बाध्यता त्यति नहुने बताइन्छ ।
तराईका जिल्लामा यस्तो प्रचलन भने त्यति ठूलो रुपमा देखिंदैन । अधिकांशले मजदूर लगाएर रोपाइँ गर्नु पर्ने अवस्था छ । पहाडी क्षेत्रमा रोपाइँ हुने दिनलाई उत्सवका रुपमा लिने गरिन्छ । रोपाइँ गर्ने गोरुको लागि भने जौ पिँधेर बनाइएको पिठोको ‘बाडी’र ‘ढुल्ला’ बनाएर खुवाउने चलन छ ।
कृषि विकास निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार आजसम्म प्रदेशमा बर्खे धान खेती गरिने जम्मा एक लाख ८५ हजार ८४७ हेक्टरमध्ये झण्डै २२ प्रतिशत आर्थात् ४१ हजार ७९७ हेक्टरमा रोपाइँ पूरा भएको छ । निर्देशनालयका निर्देशक यज्ञराज जोशीले धेरै क्षेत्रफलको जग्गामा अझै रोपाइँ गर्न बाँकी रहेको बताए । प्रदेशमा सबैभन्दा बढी क्षेत्रफलमा धान उत्पादन हुने जिल्लाको रुपमा रहेको कैलालीमा आजसम्म २० प्रतिशत जग्गामा रोपाइँ पूरा भएको छ । यो जिल्लामा ७० हजार ५२० हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको छ ।
यसैगरी धान खेती गरिने कञ्चनपुरको ४८ हजार ४७५ हेक्टरमध्ये २५ प्रतिशत, अछाममा ३०, बाजुरामा ३५, बझाङमा २० प्रतिशत जग्गामा रोपाइँ पूरा भएको छ । बैतडीमा २५ प्रतिशत, दार्चुला र डडेलधुरामा १५÷१५ प्रतिशत र डोटीमा २० प्रतिशत जग्गामा रोपाइँ सकिएको छ । डोटीमा १० हजार ७१५, डडेलधुरामा छ हजार १८८, अछाममा १६ हजार ५९०, बाजुरामा सात हजार १७५, दार्चुलामा चार हजार ४८० बैतडीमा नौ हजार र बझाङमा १२ हजार ७०४ हेक्टरमा बर्खे धान खेती हुने गरेको छ ।
धान उत्पादन बढी हुने कैलाली र कञ्चनपुरबाट पहाडी जिल्लामा आपूर्ति हुने गरेको छ । यो प्रदेशमा धान खेती गरिने जग्गामध्ये ५१ प्रतिशत खेतमा सिँचाइ सुविधा पुगे पनि बाँकी जग्गामा अझै आकासे पानीमा निर्भर रहनु पर्ने बाध्यता छ ।
प्रतिक्रिया