देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस संसदीय दलको नेतामा देउवा र पौडेलको लबिङ

देशान्तर

काठमाडौं ।  कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले संसदीय दलको नेताका लागि ‘लबिङ’ थालेका छन् । सभापति देउवाले आफ्नो नाममा सर्वसम्मत बनाउने पहल गरेका छन् भने पौडेलले पार्टी एकताको सन्देशका लागि आफूलाई दिन देउवासँग आग्रह गरेका छन् । देउवाले बुधबार पौडेल निवासमै गएर आफ्नो नाममा सर्वसम्मत हुने वातावरण बनाउन आग्रह गरेका थिए । जवाफमा पार्टी एक भएको सन्देश दिन दलको नेतामा आफूलाई सहयोग गर्नुपर्ने पौडेलको भनाइ थियो ।

‘शेरबहादुरजी तपाईं त सफल हुनुभयो । तर पार्टीलाई सफल बनाउनुहोस्,’ पौडेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘पार्टीलाई सफल बनाउने भनेको जिम्मेवारी बाँडफाँड गरेर हो । जिम्मेवारी बाँडफाँड गरेर अघि बढ्यौं भने हामी जस्तोसुकै चुनौतीको सामना गर्न सक्छौं र पार्टी पनि एक भएर जान्छ ।’  देउवाले पार्टी सञ्चालन गर्दा सरसल्लाह र समझदारी कायम गरेर अघि बढ्ने बताए पनि संसदीय दलको नेतामा भने आफैं अघि बढ्ने संकेत दिएका छन् । उनले घुमाउरो किसिमले दलको नेतामा प्रतिस्पर्धा नगरी आफ्नो नाममा सर्वसम्मत बनाउन पौडेलको सहयोग मागेका थिए ।

‘निर्णय नै भइसकेको छैन । तर म सल्लाह गरेरै जान तयार छु,’ देउवाको भनाइ थियो । देउवाले आफ्नो नाममा सहमति खोज्नका लागि महामन्त्री शशांक कोइराला, तत्कालीन महामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलासहितका नेताहरूसँग पनि परामर्श गर्ने भएका छन् । सर्वसम्मत जुट्ने अवस्था नभएमा केन्द्रीय सदस्य प्रकाशमान सिंह र रामशरण महतलगायत नेताहरूले पौडेललाई ‘हार्ने चुनाव’ लड्न नहुने सुझाव दिएका छन् । पौडेल भने आफ्नो पक्षको सुरक्षाका लागि भए पनि अघि बढ्नुपर्ने मान्यतामा छन् ।  दुई वर्षअघिको संसदीय दलको नेतामा तत्कालीन सभापति सुशील कोइरालासँग पराजित भएका देउवा यसपटक सहज अवस्थामा छन् । तत्कालीन सभापति कोइरालाका पक्षका एक दर्जन बढी सांसदहरू अहिले देउवाको साथमा पुगेका छन् ।

०७० माघ १२ भएको संसदीय दलको नेताको निर्वाचनमा कोइरालाले देउवालाई १६ मतले पराजित गरेका थिए । कोइरालाले १ सय ५ र देउवाले ८९ मत ल्याएका थिए । तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौला समूहले समेत देउवालाई सहयोग गर्ने संकेत दिइसकेको छ । सभापतिको दोस्रो चरणको निर्वाचनमा सिटौला पक्षले देउवालाई सहयोग गरेको थियो । सिटौला समेतको समर्थन देउवाले प्राप्त गरेमा देउवालाई दलको नेता बन्न सहज हुनेछ । कान्तिपुरमा समाचार छ । 

]]>