देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखराको पर्यटन सुदृढ हुँदै

देशान्तर

पोखरा । भूकम्प र नाकाबन्दीका कारण लगभग वर्षभर नै थिलथिलो बनेको पोखराको पर्यटनमा अहिले भने सकारात्मक सङ्केत देखिन थालेको छ । 

गत वैशाख १२ गतेको भूकम्प र त्यसपछि ठूलो सङ्ख्यामा गएका परकम्पका साथै देशले लामो समय बेहोर्नुपरेको नाकाबन्दीले यहाँको पर्यटनलाई अत्यन्त जर्जर अवस्थामा पु¥याएको थियो । 

बाह्य पर्यटन अत्यधिक रुपमा प्रभावित भएको अवस्थामा केही मात्रामा आन्तरिक पर्यटनले टेवा पु¥याए पनि लगभग २०७२ साल नै यहाँको पर्यटनका लागि ठूलो सङ्कटको वर्ष बन्न पुगेको पर्यटन व्यवसायीहरू बताउँछन् । 

विशेषगरी पोखराको पर्यटकीय चहलपहल हुने समय असोज, कात्तिक र मङ्सिर तथा फागुन चैत र वैशाख नै हो । 

यस वर्ष पर्यटकीय आकर्षणको अघिल्लो समय असोज, कात्तिक र मङ्सिरमा बाह्य पर्यटकको आगमन लगभग शून्य प्रायः जस्तै बन्न पुग्यो भने पछिल्लो समयमा भने विस्तारै पर्यटक आउने क्रमको सुरुवात भएको छ । 

लगभग एक वर्ष नै अत्यन्त सङ्क्रमणमा गुज्रिएको पोखराको पर्यटन व्यवसायलाई आन्तरिक पर्यटनले केही मात्रामा भने पनि राहत पु¥याएको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले बताए ।  

भूकम्पले पोखरामा त्यस्तो कुनै असर नपारे पनि त्यसको प्रत्यक्ष मार भोग्नुपरेको बताउँदै व्यावसायीहरुले पछिल्ला दिनमा आएर पोखरामा छिमेकी राष्ट्र चीन र भारतबाट पर्यटक आउन थालेको बताएका छन् ।  

युरोपेली राष्ट्रबाट पनि पर्यटक आउने क्रम सुरु भएको बताउँदै उनीहरुले जर्मन, फ्रान्स र अमेरिकाबाट पर्यटक पोखरा आउन थालेको उल्लेख गरेका छन् ।  

 

विशेषगरी साहसिक पर्यटन र दृश्यावलोकनका लागि पोखरा सबैको रोजाइमा पर्ने गरेको छ । यहाँ पदयात्रा, पर्वतारोहण, प्याराग्लाइडिङ, जलयात्रा र साहसिक यात्रा एवम् प्राकृतिक दृश्यावलोकनलाई लक्षित गरी पर्यटक आउने गर्दछन् । 

अन्नपूर्ण पदयात्राको मुख्य प्रवेशद्वार लमजुङको सदरमुकाम बेँसीसहर र पोखरा हुन् । पर्यटक बेँसीसहर हुँदै पाँच हजार ४१६ मिटर उचाइको अग्लो थोराङ्पास भञ्ज्याङ हुँदै मुक्तिनाथ, जोमसोम भएर पोखरा फर्कन्छन् । 

त्यस्तै पोखरा हुँदै वीरेठाँटी, घान्द्रुक, घोरपानी हुँदै जोमसोम, मुक्तिनाथ, माथिल्लो मुस्ताङ र थोरैमात्रै थोराङ्पास पार गरी मनाङ हुँदै बेँसीसहरबाट फर्कन्छन् । 

पछिल्लो समयमा पदयात्रा, दृश्यावलोकन एवम् साहसिक पर्यटनलाई लक्षित गरी पोखरा आउने पर्यटकको सङ्ख्या विस्तारै बढ्न थालेका कारण केही मात्रामा भने पनि पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ । 

पोखराको पर्यटनमा यस वर्षजस्तो नकारात्मक प्रभाव द्वन्द्वकालमा पनि नरहेको बताउने होटल सङ्घ नेपालका केन्द्रीय सदस्य विप्लव पौडेल पनि अन्तर्राष्ट्रिय रुपमा नेपाल पर्यटकीय दृष्टिबाट उत्कृष्ट गन्तव्यहरूको सूचीमा सूचीकृत हुनु समग्र पर्यटन व्यवसायीका लागि खुसीको कुरा भएको बताउछन् । 

भूकम्प र नाकाबन्दीका कारण यस वर्ष जम्मा ३० प्रतिशतमात्र पर्यटक पोखरा आएको बताउँदै उले आन्तरिक पर्यटकका कारण यहाँको पर्यटनलाई ठूलो राहत पु¥याएको बताए ।  

उनका अनुसार पोखरामा पर्यटकस्तरीय लगभग ४०० होटलले पाहुनालाई सेवा प्रवाह गरिरहेका छन् । 

अघिल्ला वर्षमा लगभग दुई लाख ५० हजारको सङ्ख्यामा बाह्य पर्यटक र त्यही सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेको बताउँदै उनले भूकम्प र नाकाबन्दीका कारण यस वर्षको त्यो सङ्ख्याको ५० प्रतिशत पनि पर्यटक नआएको जानकारी गराए । 

पोखराबाट मनोरम हिमश्रृङ्खला देख्न पाइनुको साथै फेवाताल, बेगनास ताल, रुपातालसहितका रामसारमा समेत सूचीकृत नौवटै ताल यहाँको महत्वपूर्ण पर्यटकीय आकर्षण हुन् । 

सराङ्कोट, महेन्द्र गुफा, चमेरे गुफा, पातले छाँगो, विन्दवासिनी मन्दिर, भद्रकाली मन्दिर, गुप्तेश्वर महादेव गुफा, गहिरिएर बगेको सेती नदीका गल्छी, विश्व शान्ति स्तुपा आदि यहाँका दर्शनीयस्थल हुन् । 

पछिल्ला समयमा पोखरा आसपासका भरतपोखरीस्थित हुडिकोट, कोटभैरव, पाण्डेथुमलगायतका स्थान पनि पर्यटकको रोजाइमा परेका छन् । 

उनका अनुसार पोखरामा पर्यटकलाई लक्षित गरी लगभग ३०० को सङ्ख्यामा रेस्टुराँ सञ्चालन गरिएका छन् । पछिल्ला समयमा बढ्दै गएको पर्यटक आउने क्रमले एक वर्षदेखि थिलथिलो बनेको पोखराको पर्यटन क्षेत्रले पुनर्जीवन पाउने आशा गर्न सकिन्छ । 

]]>