काठमाडौं – कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएसँगै लोक सेवा आयोगका परीक्षा पनि रोकिएको छ।
आयोगले रोकिएका परीक्षा साउनबाट थाल्ने लक्ष्य लिएको छ। आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले निषेधाज्ञा खुलेमा साउनबाटै परीक्षा सञ्चालन गर्ने बताए।
उनले भने, ‘पछिल्लो समय कोरोना संक्रमण र मृत्युदर पनि घट्दै गएको छ, त्यसैले निषेधाज्ञा पनि विस्तारै खुल्छ होला, खुलेमा साउनबाट रोकिएका परीक्षा सञ्चालन गर्ने छलफल भएको छ, जे भए पनि दसैंअघि नै परीक्षा सञ्चालन हुन्छ।’
उनका अनुसार कोरोनाले गर्दा खरिदार,सहसचिव, प्राविधिक र अप्राविधिक, संगठित संस्थाको विज्ञापनको परीक्षा रोकिएको छ। ‘आवको विज्ञापनको त सबै परीक्षा गर्न सकिएको छैन, करिब चार लाख परीक्षार्थीको परीक्षा रोकिएको छ, छिट्टै हामी यसको निकास निकाल्छौँ,’ सुवेदीले भने।
चैत १० देखि आयोग पदाधिकारीविहीन बन्दा काम गर्न समस्या भएको उनको भनाइ छ। भने, ‘सरकारले यो १५ गतेसम्ममा पदाधिकारी पठाउला, त्यसपछि काम गर्न पनि सहज हुनेछ।’
अनलाइनबाट परिक्षा गराउने स्रोतसाधन नहुदा लोकसेवा परिक्षा भौतिक उपस्थितिमै गर्ने सुचना अधिकारी सुवेदीले जानकारी दिए ।
धेरैजसो परीक्षार्थी गाउँ गएका छन्। उनीहरू सम्बन्धित परीक्षा केन्द्रमा पुग्ने सहज वातावरण मिलेपछि परीक्षा सञ्चालन गरिने सुवेदीले बताए। तनाव नलिई परीक्षा तयारी गरिरहन सबै परीक्षार्थीहरूलाई उनलेआग्रह गरेका छन् ।
प्रतिक्रिया