देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हेटौडा कपडा उद्योग सञ्चालन गर्ने सेनाको प्रस्ताव

देशान्तर

काठमाडौं ।  नेपाली सेनाले करिब १७ वर्षदेखि बन्द हेटौडा कपडा उद्योग सञ्चालन गर्ने प्रस्ताव गरेको छ । भएकै पुर्वाधार मर्मत संभार गरेर सञ्चालन गर्न सेनाले रक्षा मन्त्रालयमार्फत उद्योग मन्त्रालय समक्ष प्रस्ताव पेश गरेको हो । सेनाले प्रारम्भीक अध्ययन गरी जिम्मेवारी पाएमा मर्मतपछि सञ्चालन गर्ने निष्कर्ष निकाल्दै उद्योग सञ्चालनको प्रस्ताव गरेको हो । सेनाको सैनिक सामग्री उत्पादन निर्देशनअन्तर्गतको कम्पनी ‘बहुव्यवसाय उद्योग’ ले  कारखाना सञ्चालन गर्ने तयारी हो ।

यो कम्पनी सैनिक कल्याण कोषको रकमबाट सञ्चालित छ । ‘संगठनलाई आवश्यक सामग्री उत्पादन गर्न सकिन्छ भनेर प्रस्ताव अघि बढाइएको हो,’ सेनाका सहायक रथी तथा प्रवक्ता ताराबहादुर कार्कीले भने । बन्द हेटौडा कपडा उद्योग १ सय ८८ रोपनीमा फैलिएको छ । ३ लाख ५५ हजार स्क्वायर फिटका भवन छन् । उक्त उद्योग नेपाल र चीन सरकारको सयुक्त लगानीमा २०३२ मा स्थापना भइ २०३५ देखि कपडा उत्पादन गर्दै आएको थियो । विभिन्न कारणले ०५६ फागुनबाट बन्द यस उद्योगको वार्षिक क्षमता २३ सय मेट्रिक टन धागो, २ करोड ५० लाख मिटर कपडा उत्पादन क्षमता थियो । उद्योगमा हाल १८ वटा मेसिन छन् । सञ्चालन हुदा १ हजार एक सय ५० जनाले रोजगारी पाएका थिए ।

०६९ माघ १२ को मन्त्रिपरिषद बैठकले हेटौडा कारखानाको सम्पत्ति शेयर लगानीका रुपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभेको थियो । ‘सेनासँग कपडा कारखाना संचालन सम्बन्धि ज्ञान भएको र आफूलाई आवश्यक पर्ने सामाग्री आफै उत्पादन गर्न सक्छ भनेर प्रस्ताब अघि बढाएका हौं,’ रक्षा मन्त्रालयका सह–सचिव शिवप्रसाद सिम्खडाका भने । जंगी अड्डाले कारखाना सञ्चालन गर्ने औपचारीक प्रक्रिया अघि बढाउनुपुर्व रक्षा मन्त्रालय र उद्योग मन्त्रालयबीच पटक पटक छलफल भएको थियो । रक्षा सचिव जयमुकुन्द खनाल र उद्योग सचिव सूर्य सिलवालबीच छलफल भएपछि प्रस्ताब अघि बढाइएको हो । सेनाले तीन चरणमा उद्योग पुर्ण रुपमा सञ्चालन गर्ने अवधारणा बनाएको एक अधिकारीले बताए । सञ्चालन अनुमति पाए तयारीको पहिलो चरण ६ महिनाको हुनेछ । यो अवधीमा मर्मतसंभार गरी चीनसँग प्राविधिक सहयोग लिई सेनाको चुस्ता ९पोशाक० उत्पादन सुरु गरिनेछ । साथै बजार आवश्यकताअनुसार कपडा उत्पादन गर्न अध्ययन गरिने छ । दोस्रो चरण १२ महिनाको हुनेछ ।

यस अवधिमा चरणबद्ध अध्ययन गरि पुराना प्रविधिका मेसिन हटाई नयाँ प्रविधिका मेसिनहरु जडान गरिनेछ । ‘यहि अबधीमा उत्पादन बढाएर नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती कर्मचारीलाई समेत आवश्वक कपडा उपलब्ध गराउने योजना सेनाको छ,’ स्रोतले भन्यो, ‘तेस्रो चरणमा नयाँ–नयाँ प्रविधि जडान गरी उद्योगलाई नाफामा लैजाने काम हुनेछ ।’ सेनाले हाल बहुव्यवसाय उद्योगबाट नेपाली सेनाका लागि चाहिने मन्डी, क्याप, भेष्ट, ट्राउजर, किट व्याग र झुललगायतका सामग्री उत्पादन गरिरहेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक नन्दकिशोर बस्नेतले कपडा उत्पादनमै प्रयोग गर्ने सोचमा गृहकार्य भएको बताउदै कुनै पनि निकायलाई सञ्चालनको सोझै जिम्मा भने दिन नमिल्ने बताए । ‘सेनाको प्रस्ताब परेको जानकारीमा आएको छ, तर हाम्रो कम्पनीको सञ्चालन तथा व्यवस्थापन नियमावलीले सोझै दिन मिल्दैन । सञ्चालनका लागि पनि प्रस्ताव अह्वान गरि प्रतिस्पर्धामा जानै पर्छ,’ उनले भने, ‘यदि यो प्रक्रियामा सहभागी नहुने हो भने सरकार ९मन्त्रीपरिषद० ले विशेष निर्णय गर्नुपर्छ ।’

सेनाबाहेकबाट पनि अनौपचारीक प्रस्ताब आइरहेको उनले बताए । सेनाले दुई साताअघि काठमाडौ उपमहानगरपालिका भित्र सञ्चालन गर्ने गरि उद्योग दर्ता गरिसकेको छ । अनौपचाीक रुपमा सेनाले आबश्यक पर्ने सामाग्री उत्पादन गरिरहे पनि गत साता बसेको औद्योगिक प्रबद्र्धन बोर्डले उद्योग दर्ताको अनुमति दिएको हो । आफैलाई प्रयोग गर्ने कपडा तथा अन्य उत्पादन गर्ने गरि उद्योग दर्ताको अनुमति पाएको हो । उक्त उद्योगजस्तै हेटौडा कपडा कारखाना पनि सञ्चालन गर्ने तयारी सेनाको हो । आवश्यक मर्मतसंभार गरी छोटो समयमा संचालनमा ल्याउन सकिने सेनाको विश्वास छ ।

चीनकै सहयोगमा उद्योग स्थापना भएको हुँदा सेनालाई आबश्यक परे सञ्चालनका लागि थप सहयोग हुन सक्ने विश्वास गरेको छ । नेपाल सरकारबाट पनि सहयोग गर्नुपर्ने सेनाको माग छ । उद्योग सञ्चालनको जिम्मा पाए सेनाले आफ्ना अवकास प्राप्त कर्मचारी, आश्रित परिवार र बाहलवाला सैनिक परिचालन गर्ने योजना छ । ‘थप आबश्यक परे सैनिक सामाग्री उत्पादन निर्देशनालय अन्तरगतका युनिटहरुबाट काजमा लिने सेनाको योजना छ,’ प्रस्ताब बनाउन गृहकार्य गरेका एक अधिकारीले भने । कान्तिपुरमा समाचार छ । 

]]>