काठमाडौं – ५१ वटा संस्थालाई जोखिमयुक्त कम्पनीमा राखेर नेपाल धितोपत्र बोर्डले विस्तृत अध्ययन प्रक्रिया अगाडि बढाएको छ। धितोपत्र बोर्डले मंगलबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सूचकका आधारमा जोखिमयुक्त देखिएको ५१ कम्पनीलाई छनोट गरी प्रारम्भिक अध्ययन गरिएको जनाएको छ।
हाल ती कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङलगायत धितोपत्रसम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएको धितोपत्र बोर्डले जनाएको छ। बोर्डले विगत एक वर्ष अवधिमा सूचीकृत संगठित संस्थाहरुको मूल्यवृद्धि तीन सय प्रतिशत र सोभन्दा बढी प्रतिशतले वृद्धि भएका, मूल्य आम्दानी अनुपात एक सय र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकनसमेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा कम्पनीहरु छनोट गरेको थियो।
प्रतिक्रिया