काठमाडौँ– मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले झापास्थित बीएण्डसी मेडिकल कलेजलाई अवैध तरिकाले दिन लागिएको सम्बन्धन रोक्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगसँग माग गरेको छ।
अनेरास्ववियु क्रान्तिकारीले आइतबार राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा ज्ञापनपत्र बुझाउँदै अवैध ढंगले बीएण्डसीलाई सम्बन्धन दिने काम नगर्न आग्रह गरेको हो।
ज्ञापनपत्रमा भनिएको छ, ‘झापास्थित बीएण्डसी मेडिकल कलेजलाई अवैध ढंगले प्रधानमन्त्री एवं राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको ठाडो आदेशमा राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट सम्बन्धन दिने षड्यन्त्रलाई रोकी यी र यस्ता मेडिकल कलेजहरुलाई सम्बन्धन दिँदा नीति, विधि, प्रकृया एवं नियम संगत ढंगले दिने व्यवस्था गरियोस्।’
अवैध रुपमा सम्बन्धन दिने काम भए आफूहरु संघर्षमा उत्रिन बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार नेपाल सरकार र राष्ट्रिय चिकित्सा शिक्षा आयोग हुने अनेरास्ववियु क्रान्तिकारीले चेतावनीसमेत दिएको छ।
शिक्षा र स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्र निजीकरण गरी जनताको पहुँचभन्दा बाहिर लैजान खोजिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
प्रतिक्रिया