जनकपुरधाम – प्रदेश २ सरकारको नीति तथा कार्यक्रम पारित गराउन सत्तारुढ दल जनता सामाजवादी पार्टीले ह्वीप जारी गरेको छ।
पार्टीले प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न जसपा संसदीय दलले ह्वीप जारी गरेको हो। मुख्यमन्त्री लालबाबु राउतले बोलाएको जसपा संसदीय दलको बैठकबाट पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको हो।
आइतबार बस्न लागेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम पारित गराउने तयारी रहेको छ। दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए।
प्रदेश प्रमुख राजेश झाले जेठ २७ गते प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
जसपा भित्रको विवादको महन्थ ठाकुर पक्षले नीति तथा कार्यक्रममा मतदान नगर्ने आशंकाकाबिच ह्वीप जारी गर्नु परेको जसपाका प्रमुख सचेतक शैलेन्द्र यादवले बताए।
यता जसपा ठाकुर पक्षका प्रमुख सचेतक परमेश्वर साहले नीति तथा कार्यक्रमको आफूहरुले समर्थन गर्ने जानकारी दिए। उनले नीति तथा कार्यक्रमको विपक्षमा नजाने बताए।
प्रतिक्रिया