देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

म्यानमारकी नेतृ सुकीमाथि भ्रष्टचारका थप मुद्दा

देशान्तर

काठमाण्डौ – म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीविरुद्ध भ्रष्टचारसम्बन्धी मुद्दाहरू थपिएका छन् । सुकीविरुद्ध औपचारिक सुनुवाइ सुरु हुन केही दिनमात्रै बाँकी रहेका बेला नयाँ अभियोगहरू थपिएको बीबीसीले जनाएको छ ।

सोमवारदेखि सुकीविरुद्ध औपचारिक सुनुवाइ हुँदैछ । म्यानमारको एन्टी–करप्सन कमिशनले गरेको छानबिनपछि याङ्गुन क्षेत्रका पूर्वमुख्यमन्त्रीसँग ६ लाख डलर र सुन लिएको अभियोग सुकीमाथि थपिएको छ ।

यस्तै द खिन कि फाउन्डेशनको अध्यक्ष भएका बेला सुकीले सम्पत्ति र जग्गा लिजमा दिने क्रममा अनियमितता गरेको अभियोग थपिएको बीबीसीले जनाएको छ ।

सुकीमाथि यसअघि नै लाइसेन्स विना वाकटकीहरू राखेको, कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएका नियम तोडेको, उपनिवेशकालदेखिको देशको आधिकारिक गोप्य ऐन तोडेको लगायत मुद्दा लागेको छ ।

गएको फेब्रअरी १ मा सेनाले सत्ता हत्याएपछि सुकी हिरासतमा हुनुहुन्छ । सेनाले सत्ता हातमा लिएपछि भएको प्रदर्शनमा आठ सय ५० जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।