देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अस्ट्रेलियाविरुद्धको खेलमा युवा खेलाडीले मौका पाउछन् : प्रशिक्षक अल्मुताइरी

देशान्तर

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अस्ट्रेलियाविरुद्धको खेलमा युवा खेलाडीलाई मौका दिने बताएका छन् । शुक्रबार राति हुने खेलअघिको प्रि-म्याच प्रेस कन्फेरेन्समा बोल्दै प्रशिक्षक अल्मुताइरीले अस्ट्रेलियाविरुद्ध युवा टिम उतार्ने बताएका हुन् ।

उनले भने, यदि सबै कुरा रम्रो भएमा उनीहरु खेल्ने छन् । मलाई थाहा छ अस्ट्रेलियाविरुद्ध खेल्नु गाह्रो छ तर महत्वपूर्ण कुरा उनीहरुसँग खेल्नु हो । प्रशिक्षक अल्मुताइरीले नेपालको खेल्ने तरिका बदलिएको भन्दै अस्ट्रेलियाविरुद्धको खेल राम्रो हुने विश्वास व्यक्त गरेका छन् ।

उनले भने, आशा छ हामी अस्ट्रेलियाविरुद्ध अर्को राम्रो खेल खेल्ने छौं । हाम्रो खेल्ने तरिकामा सुधार आएको छ । हामीले हाम्रा समर्थकहरुलाई खुशी तुल्याउन सकेका छौं । प्रेस कन्फेरेन्समा अस्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाल मिहिनेती टिम भएको भन्दै अस्ट्रेलिया नेपालविरुद्ध खेल्न उत्साहित रहेको बताएका छन् । उनले भनेका छन्, नेपालले फरक तरिकाले फुटबल खेलिरहेको छ । नयाँ प्रशिक्षकले पनि राम्रो काम गरेका छन् । हामी मिहिनेत गर्ने नेपाली टिमको सम्मान गर्छौ ।

प्रशिक्षक आर्नोल्डले नेपालविरुद्ध अस्ट्रेलियाको नयाँ टिम उतार्ने संकेत दिएका छन् । उनले टिममा अहिले ४ गोल किपरसहित २९ जना खेलाडी रहेकोले नयाँ खेलाडीलाई अवसर दिने बताए । नेपालले फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा समूह बी को अन्तिम खेलमा शुक्रबार राति नेपाली समय अनुसार ९स्४५ मा अस्ट्रेलियाको सामना गर्दै छ ।

विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत अहिलेसम्म खेलेका ७ खेलमा २ जित र ५ हारसहित ६ अंक जोडेको छ भने समुहमा नेपाल चौथो स्थानमा रहेको छ । त्यस्तै अस्ट्रेलिया ६ खेलमा अपराजित रहदै १८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।त्यस्तै जोर्डन ६ खेलमा १३ अंकसहित दोस्रो स्थानमा छ भने कुवेतको ६ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै समूहको पुछारमा रहेको ताइपेइको ७ खेलमा कुनै अंक छैन ।