देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश २ मा काँग्रेस र नेकपा माओवादी केन्द्र सरकारमा जाने सहमति

देशान्तर

धनुषा – प्रदेश नं २ सरकार पुनर्गठनका सन्दर्भमा जनता समाजवादी पार्टी नेपाल(उपेन्द्र यादव समूह), नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच सहकार्य गर्ने सहमति भएको छ । केन्द्रमा सत्तासमीकरणको विषयलाई लिएर प्रदेश नं २ को सत्तारुढ दल जसपाभित्र विवाद चर्किएपछि उपेन्द्र यादव पक्षबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले महन्थ ठाकुर पक्षका चारजना मन्त्री बर्खास्त गरेपछि कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउने विषयमा सहमति भएको हो ।

जनकपुरमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव आफै तीन दिनदेखि लगातार कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग छलफलमा व्यस्त छन् । सत्ता सझेदारीबारे वार्ता गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय सम्मिलित समिति पनि सक्रिय रहेको र सो समितिले विभिन्न चरणमा काँग्रेस र माओवादी केन्द्रसँग छलफल गरेका छन् ।

जसपा, कांग्रेस र माओवादी केन्द्रबीच विभिन्न चरणमा छलफल भए पनि मन्त्रालय बाँडफाँडको विषयमा सहमति हुन सकिरहेको थिएन तर मङ्गलबार साँझ भएको छलफलपछि सत्ता सहकार्यका लागि ती दलहरुबीच सहमति भएको बुझिएको छ । सहमति अनुसार कांग्रेसले तीनवटा र माओवादी केन्द्रले दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनेछन् ।

दलहरुबीच मन्त्रालयमा भागवण्डा नमिलेपछि मुख्यमन्त्री राउतले मन्त्रालय फुटाउने तयारी गरेको बताइएको छ । अहिले प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, भूमि व्यवस्था कृषि तथा सहकारी, आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना र उद्योग पर्यटन वन तथा वातावरण गरी ६ वटा मन्त्रालय छन् । सहमति अनुसार कांग्रेस र माओवादी केन्द्रलाई दिन चार वटा मन्त्रालय टुक्र्याएर १० वटा पुर्याउने तयारी छ ।

जसपाका तर्फबाट प्रदेशसभा सदस्य रामअशिष यादवका अनुसार सामाजिक विकासलाई टुक्र्याएर नयाँ मन्त्रालयका रुपमा शिक्षा तथा स्वास्थ्य बनाइनेछ । आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सञ्चार झिकेर नयाँ मन्त्रालय बनाउने तयारी छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट कृषि तथा सहकारीलाई अलग गर्ने र उद्योग, पर्यटन, वन तथा वातावरणबाट वन तथा वातावरणलाई अलग गरेर ४ वटा मन्त्रालय थप्ने प्रदेश सरकारको तयारी छ ।

सत्ता साँझेदारीको सन्दर्भमा छलफल गर्न बनेको सरकारी र काँग्रेसका कार्यदल बीच अहिले बिहान बैठक बसी अन्तिम टुङ्गो लगाएर सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी भएको छ । आज सम्झौतामा दुबै पक्षको हस्ताक्षर भएपछि साँझ सम्ममा नवनियुक्त मन्त्रीको शपथ हुने बताइएको छ । स्रोतका अनुसार काँग्रेसबाट रामसरोज यादवको नेतृत्वमा र माओवादी केन्द्रबाट भरत साहको नेतृत्वमा सरकारमा सहभागी हुने छ ।