देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साना भूकम्प जाने क्रम जारी

देशान्तर

काठमाडौँ – लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पपछि नेपालमा साना भूकम्प जाने क्रम जारी छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार यही जेठ ५ गते बिहान भुलभुले केन्द्रविन्दु भएर गएको ५.८ रेक्टरस्केलको भूकम्पपछि नेपालमा साना भूकम्प जाने क्रम नरोकिएको हो।

केन्द्रका भूकम्पविद् भरत कोइरालाले लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पपछि नेपालमा चार रेक्टर स्केलभन्दा ठूलो पाँच पटक भूकम्प गएको बताए।

‘नेपाल भूकम्पीय दृष्टिले जोखिम क्षेत्र रहेकाले नेपालमा जुनसुकै समयमा पनि भूकम्प जान सक्छ’, कोइरालाले भने।
भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पमा ६ जना घाइते हुनाका साथै २ सयभन्दा धेरै घरमा क्षति पुगेको थियो।

२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएपछि उक्त भूकम्पलाई सम्झाउने गरी जेठ ५ गते भूलभूले केन्द्रविन्दु भएर भूकम्प गएको थियो।

भुलभुलेको भूकम्प गोरखा भूकम्पको पराकम्प हो वा नयाँ भूकम्प हो भन्नेबारे अनुसन्धान भइरहेको सो केन्द्रले जनाएको छ।

गोरखा भूकम्पपछि नेपालमा चार रिक्टरस्केलभन्दा ठूला ५५८ भूकम्प गइसकेको भूकम्पविद् कोइरालाले बताए।