मोरङ – प्रदेश १ को प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदैछ।
विराटनगरस्थित प्रदेशसभा भवनमा दिउँसो २ बजेटदेखि सुरु हुने अधिवेशनमा प्रदेशको आर्थिक कार्यविधि ऐन दोस्रो संशोधन संशोधन अध्यादेश पेश हुने कार्यसूचि छ।
बजेट छलफल १५ दिन अघि सुरु गर्नुपर्ने व्यवस्था भए पनि प्रदेश सरकारले अध्यादेशमार्फत ५ दिन कायम गरेर संशोधनको प्रस्ताव गरेको हो। अध्यादेशबाट सरकारले बजेट ल्याउने तयारी गरिरहेको जनाउँदै विपक्षी दलले बजेट अधिवेशन आह्वान गर्न माग गर्दै आएका थिए।
यसक्रममा विपक्षी दलको टोलीले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष पनि बजेट छलफलका विषयमा कुरा राखेको थियो ।
त्यसलगत्तै मुख्यमन्त्री शेरधन राईले विपक्षी दलका नेताको भेला राखेर सोमबारदेखि बजेट अधिवेशन सुरु गर्ने सहमति बनाएका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकारले बजेट अधिवेशन आह्वान नगरी पूर्वबजेट छलफललाई औपचारिकतामा मात्रै सीमित गर्न अध्यादेशमार्फत ऐन संशोधन गर्नु आपत्तिजनक भएको बताएको छ ।
बजेट छलफलको तयारीका क्रममा प्रदेश सचिवालयले सांसद, सचिवालय कर्मचारी, सुरक्षा, मर्यादापालक, पत्रकारको पीसीआर परीक्षण गराएको थियो। त्यसमा पाँचजनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।
प्रतिक्रिया