देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली राजनीतिमा फेरि बल्झेको रतन्धो रोग!

देशान्तर


नेपाली राजनीतिमा रतन्धो रोगको संक्रमण नयाँ र नौलो किमार्थ होइन ।

तर त्यो अहिले जति घातक तथा विस्फोटक बनेर संक्रमित हुन थालेको छ, यसअघि कहिलै यति तीव्र गतिमा फैलिएको थिएन । सात सालको क्रान्तिसँगै प्रजातन्त्रको जुम्ल्याहा सन्तानका रुपमा त्यो रोग नेपाल भित्रिएको थियो ।

०७ सालदेखि १५ सम्म कांग्रेसभित्र सक्रिय रहेको त्यो रोग, पंचायतकालमा कम्युनिष्ट पार्टीमा अत्यन्त उग्र रुपमा संक्रमित भएको थियो ।

परिणमस्वरुप त्यो पार्टी, वामपन्थीका नाममा दर्जनौं समूहमा विभक्त हुन पुगेको थियो । श्रापका कारण पत्थर बनेकी अहिल्यालाई मर्यादापुरुषोत्तम रामको पाउ स्पर्शले श्रापबाट मुक्त तुल्याएर पुरानै रुप र लावण्य प्रदान गरेजस्तै सर्वमान्य नेता गणेशमान सिंहले उनीहरुलाई पनि विभाजनको अभिषापबाट मुक्त पार्न २०४६ सालको जनआन्दोलनमा समेल हुन कम्युनिष्टहरु मेल र एकता गरेर आउ भन्ने शर्त राख्नु भएकाले संयुक्त भएर अघि बढ्ने बाटो खुलेको थियो ।


रतन्धो भनेको राति आँखा नदेख्ने रोग हो । चिकित्सा शास्त्रले त्यसको त्यही परिभाषा दिएको छ । अर्को शब्दमा भन्नुपर्दा दिउँसो आँखा नदेख्नेलाई जसरी दिवान्ध भन्ने गरिन्छ, त्यसको ठीक उल्टो राति आँखा नदेख्नेलाई रतन्धो भन्ने गरिएको हो । दिउँसो अर्काको आङको जुम्रा मात्र होइन, लिखासमेत प्रष्ट देख्ने नेपाली नेताहरु रात परेपछि आफ्नो आङको भैंसी पनि देख्न छाड्छन् । जब कसैमा त्यस्तो रोगको लक्षण देखापर्छ, तब आँखा चिम्लेर भनिदिए हुन्छ– त्यसलाई रतन्धो रोग लागेको छ । किनभने त्यो लक्षण रतन्धो हुनुको पहिचान र प्रमाण दुवै हो ।

माथि भने झैं नेपाली राजनीतिमा त्यसको प्रवेश सात सालको क्रान्तिपछि मात्र प्रभावी भएको हो । राजनीतिमा जनताको भूमिका नै त्यही क्रान्तिले स्थापित गरेकाले दलगत राजनीतिसँग अभिन्न त्यो रोग विभिन्न चरण पारगर्दै कहिले शुस्त र कहिले तीव्र गतिमा संक्रमित हुन थालेको हो । त्यो रोगले कुनै दल र समूहलाई विभाजित हुनबाट अछुतो रहन नदिएकाले वास्तवमा त्यसले राष्ट्रिय रोगको दर्जा प्राप्त गरिसकेको छ । कुनै बेला गरीवी, दरिद्रता र भोकबाट पैदा हुने क्षयरोगले पाएको त्यो दर्जा कालान्तरमा कुपोषण र ग्याष्ट्रिकले जित्न थालेको थियो । यता आएर रतन्धो रोगले ती सबैलाई उछिनी सकेको छ ।


शुरुमा त्यो रोग नेपाली कांग्रेसमा मात्र सीमित थियो । कांग्रेस त क्रान्ति अघि नै त्यो रोगबाट आक्रान्त भइसकेको थियो । सबैलाई जाहेर छ, क्रान्तिको हलचलपूर्ण क्रियाकलापले त्यो रोग विस्फोटक बन्न सकेको थिएन, परिवर्तनको उपलब्धीले त्यसलाई ढपक्क ढाकिदिएको थियो । प्रजातन्त्र आएपछि विभिन्न पार्टी खुले । जति पार्टी खुल्दै गए, त्यो रोग पनि ती सबैमा संक्रमित हुँदै गयो । त्यस प्रकार त्यो रोग, त्यसबेला पनि साना ठूला सबै पार्टीमा संक्रमित हुन पुगेको थियो । ०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रको अपहरण गरेर पंचायतका नाममा आफ्नो तानाशाही लाद्नु अगाडि कम्युनिष्ट पार्टी मात्र त्यो रोग लाग्नबाट बचेको थियो ।

राजाको कदमको समर्थन गर्ने र नगर्ने दुई गुटमा विभाजित हुँदै कालान्तरमा इतिहासमै सबैभन्दा बढी विखण्डित पार्टीमा कम्युनिष्ट रेकर्डेड हुनपुग्यो । अहिले पनि नेकपा आधा दर्जनभन्दा बढी समूहमा विभाजित छ । उसैको संगतले त्यो रोग मधेसवादी दलमा पनि संक्रमित भयो । नेपाल कम्युनिष्ट पार्टी फुटेर तीन टुक्रामा विभाजित भएपछि शुरु भएको घोडा ब्यापारको रोग, जनता समाजवादी पार्टीमा सरेको छ । त्यो पार्टी पनि दुई चिरामा विभाजित भएको छ– उपेन्द्र यादव र महन्त ठाकुर समूहमा ।

नेपालमा विद्यमान जति मधेसवादी दल छन्, ती सबै नेपाल सद्भावना पार्टीका ब्याइते र ल्याइतेतिरबाट जन्मेका सन्तान हुन् । सद्भावना पार्टी, आफै पनि नेपाल सद्भावना परिषद्को सन्तान थियो, जसका संस्थापक थिए– गजेन्द्रनारायण सिंह । त्यो पार्टी पनि नेपाल तराई कांग्रेसको उत्तराधिकारी थियो । निर्दलीय पंचायत व्यवस्थामा दल खोल्न नपाइने हुनाले सद्भावना परिषद्का नामबाट उनले त्यो संगठन खोलेका थिए ।

नाम जे भए पनि काम त्यसले त्यही गर्ने गथ्र्यो, जुन अहिले जनता समाजवादी पार्टीका नामबाट चलेका पार्टीहरुले गरिरहेका छन् । एक समय यस्तो पनि थियो, तिनै दल विभाजित भएर आधा दर्जनभन्दा बढीमा विभक्त भएका थिए । गौतम बुद्धले बोधगयामा बोधितत्व पाएजस्तै ती विखण्डित दलका नेताहरुको पनि “इनलाइटमेन्ट” प्राप्त गरे । त्यही ज्योतिका कारण उनीहरु कहिले खुम्चन्छन् र कहिले फेरि बेनियन ट्री, अर्थात् वरको रुख, जसको मुन्तिर केही कुनै बोट विरुवा पैदा हुँदैनन्, त्यसका उत्पादक भएर प्रकट हुन्छन् ।


माथिनै भनियो, मधेसवादी सबै दलको बंशबृक्ष नेपाल तराई कांग्रेस हो, जसको स्थापना २०१० सालमा भएको थियो र त्यसका अध्यक्ष वेदानन्द झा थिए । उनलाई दुरगामी मन्त्रदान गर्ने शक्ति कुन थियो, जो रतन्धो छैन, उसलाई त्यो बताइरहनै पर्दैन ।


“नेपाल तराई कांग्रेसको स्थापनाकालको उद्देश्य उसले बडा स्पष्टसँग घोषित गरेको थियो– भाषा, भौगोलिक, आर्थिक तथा सामाजिक संगठनको आधारमा तराई र पहाडलाई क्रमश दुई वा दुईभन्दा बढी प्रान्त कायम गरी त्यसको आन्तरिक शासनको पूर्ण अधिकार प्राप्त गराउनु र त्यस्ता स्वशासित प्रान्तहरुलाई एकै शुत्रमा आवद्ध गरी नेपाल युनियनको स्थापना गराई नेपालमा सच्चा लोकतन्त्रको स्थापना गर्नु ।”
यो दोहो¥याइरहन पर्दैन कि तराईका पार्टीका नाम झण्डा र नेतृत्वमा जति परिवर्तन भए पनि उनीहरुका आधारभूत एजेन्डामा कुनै परिवर्तन भएका छैनन् । त्यसको ६१ वर्षपछि बनेको संविधानले संघीयताको मुख्य र अन्य प्रत्यक्ष र परोक्ष एजेन्डा पूरा गरिसकेको छ, तैपनि त्यसको केही कालपछि थपिएको नागरिकता सम्वन्धी माग भने सम्वोधन हुन अझै बाँकी छ । यद्यपि त्यसको बाटो अध्यादेशले खोली दिएकै छ, तथापि अदालत र जनमतको विकल्प शेष बचेकाले उनीहरुले नेपाली नेताहरुलाई घेर्ने अभियान शिथिल हुन दिएका छैनन् ।

अस्ति भएको मन्त्रिपरिषद्को पुनर्गठन र त्यसमा भएको मधेसवादीको अप्रत्याशित ढंगको प्रतिनिधित्वले पनि प्रष्ट पार्दछ । आजको पुस्तालाई नेपाली राजनीतिमा प्रजातन्त्रको बदला “लोकतन्त्र” शब्दको प्रवेश कहिले, कुन पृष्ठभूमिमा कसरी कहाँबाट भएको थियो र १२ बुँदे दिल्ली सम्झौतासम्म आइपुग्नुअघि त्यो शक्तिले मधेसलाई पहाडभन्दा अलग हो भन्ने दिशामा कसरी काम गरेको थियो, त्यसको अध्ययन आवश्यक मात्र होइन, अपरिहार्य नै छ । त्यो यस कारण पनि जरुरी छ कि त्यसबाट मधेस आन्दोलनका वास्तविक नेतृत्वकर्ताहरु शान्तिकालमा कसरी किनारातिर धकेलिंदै गए र अनेकतिरबाट शरणार्थी भएर त्यो आन्दोलनमा जुट्न पुगेका महन्त ठाकुरजस्ता घुमन्ते नेताहरुले कसरी नेतृत्व हत्याए भन्ने तथ्य आफसे आफ उद्घाटित हुन सकोस् ।


खोटो सिक्का चल्न थालेपछि बजारबाट सक्कली सिक्का हराउँछन् भनेको आज पनि कति सत्य रहेछ, त्यो, मधेसबाट उपेन्द्र यादवलाई महन्त ठाकुरले उछिट्याएको घटनाले पुष्टि गरेको छ । लाटालाई पनि थाहा छ, मधेस आन्दोलनका वास्तविक नेता उपेन्द्र यादव नै हुन्, ठाकुर होइनन् । उनी त २०६३ सालको मधेस आन्दोलन दवाउने सरकारमा कांग्रेसका मन्त्री थिए । तर खुदा मेहरवान तो, बन्दा पहलमान भन्ने उखान ठाकुरमा चरितार्थ भयो । रतन्धाहरुले महन्त ठाकुरलाई क्रान्तिकारी र उपेन्द्र यादवलाई प्रतिगामी ठाने । अनि नेपाली जनताले जिब्रो टोक्ने नै भए ।