देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्व वातावरण दिवस आज, स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्छ : राष्ट्रपति

देशान्तर

काठमाण्डौ – आज विश्व वातावरण दिवस मनाइँदैछ । दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएका छन् । पर्यावरणप्रति राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले यो दिवस मनाइन्छ ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि बर्सेनि जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो । तर, दिवस मनाउँदै आए पनि विश्वमै वातावरण संरक्षणमा भने चुनौती बढ्दै गएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसलाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन् । सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने तथा वायु, जल एवं भूमि प्रदूषणबाट परिरहेको असर कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा राखेका विषय र गरेका प्रतिबद्धता कार्यान्वयन गर्नका लागि यो दिवसकले थप उत्प्रेरणा दिने विश्वास उनको छ ।

मानिसले गरेका प्राकृतिक स्रोतको अधिक दोहनका कारण वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएकाले त्यसलाई पुनःस्थापना गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न राष्ट्रपतिले सबैमा आह्वान गरेकी छन् । प्रचुर जैविक विविधतासहित प्राकृतिक सम्पदाले सम्पन्न नेपालमा पूर्वाधारको विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै अगाडि बढ्न सके ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्नमा सहयोग पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् ।

संयुक्त राष्ट्र संघले आह्वान गरेबमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो । यस वर्ष पारिस्थितिकीय प्रणाली पुनःस्थापनका विषयमा केन्द्रित हुँदै ‘नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि विश्व वातावरण दिवस’ मनाउन लागिएको छ ।