देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अन्जन र नवयुग चम्कदाँ नेपालको शानदार जित

देशान्तर

कुवेतमा जारी फिफा विश्वकप २०२२ र एशियन कपको छनौटको दोश्रो चरण अन्तर्गत चाइनिज ताइपेइबिरुद्धको खेलमा नेपाल विजयी भएको छ ।

कुवेतकोे जाबेर अफ एहमद अन्तराष्ट्रिय स्टेडियममा बिहिबार राति सम्पन्न खेलमा नेपालले चाइनिज ताइपेइलाई २–० गोल अन्तरले हराएको हो ।

नेपालका लागि खेलको शुरुवाती चौथो मिनटमा स्ट्राइकर अन्जन विष्टले गरेको एक मात्र गोल नै निर्णायक साबित बन्यो । विष्टले यसअघि पनि ताइपेइबिरुद्धको पहिलो चरणको खेलमा दुई गोल गरेका थिए ।

अन्जनको गोलमा नेपालले ताइपेइमाथि पहिलो हाफमा १–० अग्रता कायम गरेको थियो ।

सन्तोष तामाङ्गको फ्रि किकमा ताइपेइका खेलाडीले गोलबक्स भित्र ह्याण्डबल गर्दा नेपालले शुरुवाती चौथो मिनटमा नै पेनल्टीको अवसर पाएको थियो । सोही अवसरको सदुपयौग गर्दै अन्जनले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

यसपछि खेलको ३८औं मिनटमा अन्जनले नै लेफ्ट साइडबाट कट गर्दै गरेको प्रहारलाई ताइपेइको गोलकिपरले सहजै बचाउ गरेका थिए ।

यस्तै ५४औं मिनटमा अन्जन विष्टको पासमा सन्तोष तामाङ्गले पाएको सुन्दर मौकामा गोल गर्न चुकेका थिए ।

यसपछि सब्स्टीट्युटको रुपमा मैदानमा प्रवेश गरेका नवयु्ग श्रेष्ठले खेलको ८०औ मिनटमा गोल गर्दै नेपाललाई २–० को जित दिलाए ।

यो नेपालको ताइपेइबिरुद्ध यसै प्रतियोगितामा लगातार दोश्रो जित समेत हो । यसअघि नेपालले ताइपेइलाई उसैको मैदानमा गत वर्षको सेप्टेम्बरमा पनि समान २–० गोल अन्तरले विजयी भएको थियो ।

नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आज ताइपेइबिरुद्धको खेलमा इराकसँगको अट्याकिङ्ग लाइनमा दुई खेलाडी परिवर्तन गरेका थिए ।

मनिष डाँगी र नवयुग श्रेष्ठको स्थानमा आज अल्मुताइरीले सुनिल बल र आशिष लामालाई अन्जन विष्टलाइ सघाउन शुरुवातमा मैदानमा उतारेका थिए ।

जितसँगै नेपाल ६ खेलमा ६ अंक जोड्दै चौथो स्थानमा यथावत छ भने समान खेलमा जितविहिन रहेको ताइपेइ अंकविहिन अवस्थामा तालिकाको पुछारमा छ ।

अब नेपालले जुन ७ तारिखमा जोर्डनसँग खेल्नेछ भने ११ तारिखमा बलियो अष्ट्रेलियासँग खेल्नेछ ।