देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश २ सरकारले भन्यो- ढुङ्गा, गिटी, बालुवा बेच्ने घोषणा सच्याऊ, अन्यथा हामी निर्णय लिन्छौं

देशान्तर

काठमाडौं । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले बजेट वक्तव्य सच्याउन संघीय सरकारलाई आग्रह गरेका छन् । संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमा ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने योजना रहेको जनाएका थिए । त्यसको विरोध गर्दै प्रदेश–२ सरकारका मुख्यमन्त्री राउतले बजेट वक्तव्य सच्याउन आग्रह गरेका हुन् ।

मुख्यमन्त्री राउतले आज (बिहीबार) एक प्रेस विज्ञप्ति जारी गर्दै ढुंगा, गिटी, बालुवा निकासी गर्ने योजनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । चुरे पहाड प्रदेश–२ को रक्षाकवच रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘चुरे क्षेत्रको माटो एकदमै कमजोर छ । कमजोर भू–बनोटका कारण यहाँका ढुंगा, गिटी निकालियो भने नदीको वहाव तीव्र हुने र तीव्र वहावले बगाएर ल्याउने बालुवा मधेसमा थुप्रिदै जाने प्रायः निश्चित नै छ ।’

चुरेको महत्वलाई नबुझेर संघीय सरकारले अदूररदर्शी निर्णय गरेको उनको भनाइ छ । उनले भनेका छन्, ‘ढुंगा, गिटी, बालुवा उत्खनन् गर्ने योजनाले देशकै अन्न भण्डारको रुपमा रहेको प्रदेश–२ को सम्पूर्ण भूभाग मरुभूमिकरण भई शतप्रतिशत जनताको बिल्लीबाठ हुने निश्चित छ ।’

प्रदेश–२ लाई मरुभूमिकरण हुनबाट जोगाउन प्रदेश सरकार सगज रहेको उनले जनाएका छन् । संघीय सरकारले बजेट वक्तव्य नसच्याए चुरे संरक्षणका लागि प्रदेश सरकारले आवश्यक निर्णय लिने उनले चेतावनी दिएका छन् ।

मुख्यमन्त्री राउतले भनेका छन्, ‘नेपाल सरकारको बजेट वक्तव्यलाई सच्याउन हुन आग्रह गर्नुको साथै यस्तो कार्य तत्काल नरोकिए तराई मधेसको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिनेछ ।’