देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अनुमति बिना सडकखण्डमा क्रसर उद्योग सञ्चालन

देशान्तर

खोटाङ । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडकखण्डमा बिना अनुमति क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ । 

एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा कालोपत्रेको काम थालिएको सडकखण्डमा पर्ने मुडे, नाँगी र कदुवामा बिना अनुमति क्रसर उद्योग सञ्चालन गरेको पाइएको हो । 

सडक कालोपत्रेका लागि अस्थायीरुपमा क्रसर उद्योग सञ्चालन गरिएको ठेकेदार कम्पनीका प्रतिनिधि रामबहादुर तामाङले बताए । “हामीले स्थायीरुपमा क्रसर उद्योग सञ्चालन गरेका हैनौँ ।” उनले भने, “अस्थायीरुपमा सञ्चालन गरिएकाले कसैलाई जानकारी गराएका छैनौँ ।” 

क्रसर उद्योग सञ्चालनका लागि हालसम्म आधिकारिक जानकारी नआएको जिल्ला विकास समिति खोटाङका स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताए । “जुनसुकै ठाउँमा क्रसर उद्योग सञ्चालन गर्दा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने हुन्छ ।” उनले भने, “दिक्तेल–हलेसी सडकखण्डमा बिना अनुमति उद्योग सञ्चालन गरेको पाइएकाले कारबाहीका लागि प्रशासनलाई पत्र लेखेको छु ।” 

सडकखण्डमा सञ्चालन गरिएको क्रसर उद्योगबारे छानबिन र कारबाहीका लागि ठेकेदार कम्पनीका व्यक्तिलाई प्रहरीमार्फत प्रशासनमा झिकाइएको निमित्त प्रमुख जिल्ला अधिकारी दिनेश कुमालले बताए ।  “क्रसर उद्योग सञ्चालनबारे छानबिन गरी कारबाही गर्न जिविसले प्रशासनलाई लेखेको पत्र कार्यालयमा आइपुगेको छ ।” 
हलेसीदेखि बिजुलेसम्मको १२ किलोमिटर सुर्यदेवी कन्काई तथा बिजुलेदेखि दिक्तेलसम्मको २४ किलोमिटर सडकखण्ड कालोपत्रे गर्ने जिम्मा नागार्जुन र लामा नागार्जुन त्रिशूलीले लिएको छ । 

राजधानी काठमाडौँ तथा तराईका विभिन्न जिल्ला जोड्ने दिक्तेल–हलेसी सडक कालोपत्रेको काम सुस्त गतिमा भइरहेको छ । दुई वर्षअघिदेखि कालोपत्रेको काम सुरु गरिएको सडक अहिलेसम्म फराकिलो पार्ने र ठाउँठाउँमा पर्खाल हाल्नेबाहेक थप केही भएको छैन । 

राष्ट्रिय महत्व बोकेको मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडक ठेकेदार कम्पनीको लापर्बाहीले कालोपत्रे गर्ने काममा ढिलाइ भएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए । “हिउँदमा धुलो र वर्षामा हिलोका कारण जिल्लावासीले सास्ती खेप्नु परिरहेको छ ।” उनले भने, “यसप्रति सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ ।” 

विसं २०६४ बाट सञ्चालनमा ल्याइएको दिक्तेल–हलेसी सडकखण्डमा यस वर्ष वर्षायाममा यातायातका सवारीसाधन नचल्ने यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङमाङले दाबी गर्नुभयो । 
समयमा सडक कालोपत्रे नहुँदा जिल्लावासीले कष्टप्रद ढङ्गले यात्रा गर्नुपर्ने तथा नियमित यातायात सञ्चालन नहुँदा महँगीको मार खेप्नुपर्ने बाध्यता छ । 

]]>