देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यस वर्षको एसईई पनि आन्तरिक मूल्यांकनबाटै

देशान्तर

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि आन्तरिक मूल्यांकनबाट हुने भएको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले गत वर्षजस्तै यसपालि पनि परीक्षा आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको हो ।

यो निर्णयअनुसार विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ ।

विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्नेछ । यसअघि शिक्षा मन्त्रालयको बैठकले गएको वर्ष जस्तै आन्तरिक मूल्यांकन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो ।

गएको वर्ष विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्यांकन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र तेस्रो त्रैमासिक अवधिको ६० प्रतिशत अंकका आधारमा मूल्यांकन गरेको थियो ।

मूल्यांकन समितिले राष्ट्रिय परीक्षा बोर्डले तोके अनुरुप विद्यार्थीको प्राप्तांक शिक्षा विकास तथा समन्वय इकाईमा बुझाएपछि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईहरुले विवरण राष्ट्रिय परीक्षा बोर्डमा पठाइ बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।

यस वर्ष पनि कोरोना महामारीका कारण परीक्षा सञ्चालन गर्न नसकिने अवस्था भएपछि सरकारले गएको वर्षकै विधि अपनाउने निर्णय गरेको हो ।