दाङ– लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ ।
कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले बताए । निर्वाचनका लागि दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रमा तीन वटा मतदान स्थल तोकिएको छ ।
प्रदेशसभा सदस्यका लागि क गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि ख र कोभिड सङ्क्रमितका लागि ग मतदान केन्द्र तोकिएको हो । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने छ ।
निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दीर्घनारायण पाण्डे उम्मेदवार रहनुभएको छ ।
पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार हुनुहुन्छ ।
प्रतिक्रिया