देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय सभा उपनिर्वाचनको ‘मौन अवधि’ रातिदेखि

देशान्तर

लुम्बिनी । लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको यही जेठ १७ गते सोमबार हुने उपनिर्वाचनमा मतदाता परिचयपत्रका साथै नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र देखाएर पनि मतदान गर्न सकिने छ ।

निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सकिने छ ।
निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले निर्देशन दिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

यसैबीच उक्त उपनिर्वाचनका सन्दर्भमा आज राति १२ बजेदेखि निर्वाचन मौन अवधि शुरु हुँदैछ । मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने मात्र होइन, मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनु पर्नेछ ।

एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न र उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन र प्रसारण गर्न नहुनेतर्फ हेक्का राख्न आयोगले सबैसँग अनुरोध गरेको छ ।

लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले) बाट चन्द्रबहादुर खड्का र विपक्षी दलहरुको गठबन्धनबाट दृघनारायण पाण्डे उम्मेदवार छन् ।