देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बारपाकमा ‘भयावह’ बन्दै कोरोना : परीक्षण गर्न नमान्दा घरमै धमाधम ज्यान जाँदै

देशान्तर

गोरखा । गोरखाको बारपाकमा कोरोना भाइरस संक्रमणले ‘भयावह’ रुप लिएको छ । एकै ठाउँ ११ सय घरधुरी रहेको बारपाकमा कोरोना संक्रमण ‘भुसको आगो’ जसरी भित्रभित्रै सल्किरहेको छ । एकै गाउँमा दुई दिनमै छ जनासहित दुई सातामा १२ जनाको ज्यान गइसकेको छ । मृतक सबैमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको स्थानीयबासीले जानकारी दिएका छन् । गाउँमा कोरोना संक्रमण दर तीब्र गतिमा बढिरहँदा स्थानीयबासीले परीक्षण गर्न मानेका छैनन् ।

बाक्लो बस्ती रहेको गाउँमा महामारी फैलिएकोप्रति प्रदेश तथा संघ सरकारले पनि उचित ध्यान नदिएपछि गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले विज्ञप्ति जारी गरी सहयोगको अपिल गरेका छन् । बारपाकको अवस्था गाउँपालिका एक्लैले थेग्न नसक्ने रहेको अध्यक्ष भट्टले विज्ञप्तिमा खुलाएका छन् । ‘तत्काल यहाँ प्रदेश र संघीय सरकारले चिकित्सकसहितको टोली पठाउनु पर्छ’, उनले भने, ‘सिङ्गो गाउँभरि कोरोनासँग लक्षण मिल्दोजुल्दो बिरामी रहेकाले तत्काल यहाँ चिकित्सकसहितको टोली आवश्यक छ ।’

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका स्वास्थ्यकर्मी कोरोना परीक्षण गर्न ९ जेठमा बारपाक पुगे । तीन सय जनाको परीक्षण गर्ने भनेर वडा नम्बर १ र २ मा पर्ने बारपाक गाउँ गएको टोली १८ जनाको मात्रै एन्टिजेन परीक्षण गर्न सफल भयो ।

१८ जनामा परीक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ देखियो । ‘कोही बिरामी भएर पनि सञ्चो भइसक्यो भन्ने, कोही टेस्ट गरे घर बस्न पाइन्न भन्ने खालको भ्रम रहेछ, सोचे जस्तो परीक्षण नै हुन पाएन,’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोदराज भट्टले भने ।

पोजिटिभ देखिएकालाई गम्भीर समस्या थिएन । त्यतिबेला स्वास्थ्य सामग्री वितरण गरेर स्वास्थ्यकर्मीको टोली फर्कियो । ‘यस्तो स्वास्थ्य विधि अपनाएर घरमै बस्नुस्, केही अप्ठ्यारो परे स्वास्थ्य चौकी जानुस्, त्यहाँ समस्या पहिचान भएर अस्पताल लैजान परे गाउँपालिकाकै खर्चमा एम्बुलेन्स ल्याएर लैजान्छौँ भनेर फर्कियौँ,’ भट्टले भने ।

बारपाक सुलिकोट गाउँपालिकाको १ र २ नम्बर वडामा पर्ने बारपाकमा १५ सय हाराहारीमा घर छन् । त्यहाँका घरका प्रायः सदस्यमा रुघाखोकीसहित कोरोनासँग मिल्दोजुल्दो लक्षण छ । ‘यहाँका स्थानीयबासीलाई रोग परीक्षण गर्न, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न काउन्सिलिङ गर्नुपर्छ । बिरामीलाई घरघरमा गएर जाँच गर्ने, उपचार गर्ने, औषधि वितरण गर्ने काम यथाशीघ्र गर्नुपर्नेछ’, अध्यक्ष भट्टले भने, ‘यसका लागि गाउँपालिका पनि तयार छ ।’

गाउँपालिकासँग भएको जनशक्ति र क्षमताले त्यहाँको भयावह अवस्था धान्न नसक्ने बताउँदै उनले सचेतनाका कार्यक्रमसहित जानुपर्ने बताए । अहिले बारपाकमा करिब एक हजार भन्दा बढीमा रुघाखोकी र ज्वरोको मिल्दोजुल्दो लक्षण देखिएको छ । तत्काल उपचार नगराउने हो भने ठूलो संख्यामा मानवीय क्षति हुने भन्दै उपचारमा ध्यान केन्द्रित गर्न र सहयोग गरिदिन अध्यक्ष भट्टले अपिल गरेका छन् ।