काठमाडौं – आगामी जेठ २२ गते हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगित भएको छ।
भन्सार विभागले एक सूचना जारी गर्दै कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै देशका अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण लिखित परीक्षा स्थगन गरिएको जनाएको हो।
‘कोभिड–१९ बाट सिर्जित असमान्य परिस्थितिका कारण उक्त परीक्षा स्थगन गरी लिखित परीक्षा हुनुभन्दा कम्तीमा १५ दिनअगाडि सूचना प्रकाशन गरिनेछ, लिखित परीक्षासम्बन्धी सूचना गोरखापत्र र विभागको वेबसाइटमा समेत राखिनेछ,’ विभागले सार्वजनिक गरेको सूचनामा भनिएको छ।
गत चैत दोस्रो साता विभागले ठूलो सङ्ख्यामा भन्सार एजेन्टको माग गरेको थियो। २० वर्षदेखि नयाँ भन्सार एजेन्ट थप हुन नसकेको भन्दै एकै पटक छ सय साठी एजेन्टका लागि इजाजत खुला गरिएको थियो।
भन्सार नियमावली, २०६४ को नियम ३७, उपनियम १०० बमोजिम भन्सार एजेन्टको इजाजतपत्रका लागि २१ वर्ष उमेर पूरा भई तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले वैशाख ५ गतेसम्म विभागको वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्ने गरी आवेदन खुला गरिएको थियो।
वैशाख ५ गते र दोब्बर दस्तुर तिरी १२ गतेसम्म आवेदन खुला गरिएको थियो। आवेदन दिने समय सकिए पनि कोभिडका कारण लिखित परीक्षा स्थगन भएको हो।
भन्सार विभागले ऐन परिमार्जन गरी परीक्षा लिन लागिएको जनाएको छ। भन्सार एजेन्टले आयात निर्यातमा व्यापारी र भन्सार कर्मचारीबीच पुलको काम गर्छन्।
प्रतिक्रिया