देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनमोर्चाका सांसद थापा साधारण सदस्यबाटै निष्कासित

देशान्तर

पोखरा । गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय सदस्य कृष्ण थापा पार्टीबाट निष्कासित भएका छन् । शनिबारको बसेको केन्द्रीय बैठकले थापालाई केन्द्रीय सदस्यबाट आजीवन र साधारण सदस्यको लागि एक वर्षका लागि निष्कासन गरिएको केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिएका छन् ।

‘हामीले उहाँलाई पार्टीको सबै जिम्मेवारीबाट हटाएका छौं’, उनले भने, ‘यसभन्दा पहिला पनि कारबाही गर्दै दलको नेताबाट हटाएका छौं ।’ उनले सांसद पदबाट पनि कारबाही गर्न पहल भइरहेको बताए । पार्टीमा आँच आउने गरी काम गरेको र पार्टी निर्देशन उल्लंघन गरेकाले कारबाही गरिएको भट्टको भनाइ छ । पार्टीले ह्रवीप जारी गर्दासमेत थापाले उल्लंघन गर्दै आएको उनले बताए ।

विपक्षी गठबन्धनले गण्डकी प्रदेश सरकारविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा राजमोको साथ थियो । अविश्वासको प्रस्तावमाथि मतदान गर्ने पार्टीले निर्णय गरेको थियो । अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिनमै पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनको राजीनामासँगै प्रदेश प्रमुख सीता पौडेलले तीन दिनभित्र नयाँ सरकार गठनको लागि आह्रवान गरेकी थिइन् ।

६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा सरकार गठनको लागि बहुमत (३१ सदस्यको) को हस्ताक्षर चाहिन्छ । गण्डकीमा कांग्रेसका १५, एमालेका २८, माओवादी केन्द्रका १२ (सभामुखसहित) राजमोका ३ र जसपाका २ सदस्य छन् । सरकार गठनको लागि निर्णयक भूमिकामा रहेको राजमोका थापाले एमाले पार्टीलाई सहयोग गरेका थिए । उनले मुख्यमन्त्रीमा गुरुङ नै हुनुपर्ने बताएका थिए ।

नयाँ सरकार गठनको लागि हस्ताक्षर संकलन गर्ने क्रममा ‘समय छ हस्ताक्षर गर्ने भन्दै’ तर्किए । महासचिव भट्टको नेतृत्वमा बसेको पार्टी बैठकले बारम्बार निर्देशन दिँदा पनि नयाँ सरकार गठनको पक्षमा उनी उभिएनन् । जनमोर्चाका उनको हस्ताक्षर नपुगेको भन्दै प्रदेश प्रमुख पौडेलले संसद्मा सहभागी सबैभन्दा ठूलो दलको हैसियतले एमालेका दलका नेता गुरुङलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।