देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एउटै ठाउँलाई जोड्ने पाँचवटा सडक आयोजना

देशान्तर

म्याग्दी । म्याग्दीको दरवाङदेखि छिमेकी जिल्ला बागलुङको लामेला तमान जोड्ने सडक निर्माणका लागि पाँचवटा आयोजना सञ्चालन भएका छन् । 

    दलका नेताहरूको स्वार्थ, मुख्य सडकले आफ्नो बस्तीलाई समेट्नुपर्ने स्थानीय बासिन्दाको माग, पहिले खनेको सडक असफल हुनुजस्ता कारणले एउटै ठाउँसँग जोडिने फरक फरक नाम गरेका आयोजना सञ्चालन भएको हो । 

    दरवाङदेखि सोले धुरी हँुदै लामेला तमान जोड्ने पाँचवटै सडक जिविसमार्फत सञ्चालन भएका हुन् । भौगोलिक विकटता र प्रतिकूल भू–बनोट रहेको ठाउँमा सडक निर्माण गर्न विनियोजन हुने बजेट विकेन्द्रित गरिँदा योजना अपूरो, उपयोगविहीन र प्राविधिक हिसाबले असफल बनेका हुन् । विसं २०६७ मा दरवाङदेखि फूलबारी ओखरबोट सोले डाँडा हँुदै लामेला तमान जोड्ने सडक निर्माण भएको थियो । त्यसपछि रुमको अदिभारा स्याउलुङ डाँडागाउँ हँुदै सोले जोड्ने लक्ष्यसहित अर्को योजना सञ्चालन भयो । 

    सरकारी निकाय र स्थानीयवासीको ५० लाख रुपैयाँ खर्च भएको उक्त सडक प्राविधिक हिसाबले असफल भएपछि अहिले अलपत्र अवस्थामा छ । त्यो आयोजना असफल भएपछि २०७० सालदेखि अदिभारा बिलबाङ रुम हुँदै सोले जोड्ने अर्को सडक आयोजना सञ्चालन भइरहेको छ । त्यसैगरी ओखरबोट हुँदै रुमको ८ र ९ नम्बर वडामा पर्ने डाँडागाउँलाई सडक सञ्जालसँग जोड्न यस वर्ष जिविसमार्फत सात लाख ४० हजारको योजना कार्यान्वयन गर्ने तयारी भएको छ । 

    त्यसैगरी, ओखरबोटको महभिर, चिउरीबोट, छापका बासिन्दाले पनि दरवाङ फूलबारी चिउरीबोट छाप सोले लामेला तमान सडक आयोजना सञ्चालन गरेका छन् । दुई जिल्ला जोड्ने सडक आयोजनालाई सरकारले बजेट विनियोजनका क्रममा प्राथमिकता दिने भएकाले सबै आयोजनाको पछाडि सोले लामेला तमान जोडिएको हो । यो वर्ष दरवाङ ओखरबोट सोले लामेला तमान सडक आयोजनाका लागि दुई जिल्ला जोड्ने सडक शीर्षकको २० लाख रुपैयाँ बजेटको उपभोक्ता समितिमार्फत काम गर्न सम्झौता भएको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले बताए ।  

    एउटै ठाउँलाई जोड्ने फरक फरक नाम गरेका आयोजना हुँदा कुन योजनालाई प्राथमिकता दिने भन्ने विषयमा विवाद र अन्योलता हुने गरेको छ । यसैगरी धेरै योजनामा छरिएर बजेट खर्च गरिँदा देखिने गरी उपलब्धि नहुने स्थानीय विकास अधिकारी पौडेल बताउछन् । 

]]>