देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देउवाले प्रधानमन्त्रीलाई बुझाए १५ बुँदे ध्यानाकर्षण पत्र

देशान्तर

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस नियन्त्रणका बारे पार्टीको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार कांग्रेसले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

कोभिड – १९ महामारीको पहिलेको चरण भन्दा दोस्रो चरण भयावह भएको र त्यसलाई नियन्त्रण गर्न सरकार चुकेको कांग्रेसको ज्ञापनपत्रमा उल्लेख छ ।

सीमा नाकाहरूको व्यवस्थापनमा सरकार सुरुमै चुकेको भन्दै कांग्रेसले त्यसमा सरकार गम्भीर नभएको पनि लेखेको छ ।

मुलुकको स्वास्थ्य संरचनाले धान्नै नकस्ने गरी संक्रमित बढेका र त्यसले जनताको अवस्था नाजुक बनाएको कांग्रेसको भनाइ छ । बढ्दो बिरामीको चापसँगै विशेष गरेर अक्सिजन र आइसीयु बेडको अभाव देखिन थालेको कांग्रेसको भनाइ छ ।

निषेधाज्ञाको व्यवस्थापन सही ढंगले नगर्दा संक्रमण फैलिएको पनि कांग्रेसको भनाइ छ ।

सरकारको नेतृत्वपंक्तिको अगुवाइमा गत समयमा भएका भीडभाड, तडकभडक र उद्घाटन कार्यक्रमहरूले संक्रमण द्रूत गतिमा बढ्न मद्दत गरेको छ विज्ञप्तिमा लेखिएको छ ।

प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउन सभापति देउवा, महामन्त्रीहरू डा : शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशसरण महत, कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण, नेताहरू कृष्णप्रसाद सिटौला, रामशरण महतलगायत सिंहदरबार पुगेका थिए ।