देशले वर्तमान कालखण्डमा भोगेको जस्तो अनिष्ट विगतमा कहिल्यै पनि भोगेको थिएन । रोग र रोगी राजनीतिले देशलाई तहसनहस तुल्याउँदै छ । अनियन्त्रित रूपमा फैलिँदै गएको कोभिड– १९ संक्रमणले जनधनको खति कति र कहिलेसम्म गर्ने हो अनिश्चित छ । संक्रमणलाई नियन्त्रण गर्दै नागरिकको जीउधनको रक्षा गर्ने दायित्व बोकेको सरकार महादेवबाट वरदान प्राप्त गरेको भष्मासुर जस्तो छ । राजनीति भष्मासुर प्रवृत्तिग्रस्त छ, विगत तीन वर्षदेखि । अवसर आएको थियो देशलाई भष्मासुर प्रवृत्तिबाट मुक्त गर्ने । विवेकहीन राजनैतिक व्यक्तित्वहरूले भष्मासुरद्वारा निर्मित माखेसाङ्लो भत्काउनुको साटो त्यही माखेसाङ्लोमा आफैं लुटपुटिए । संघीय संसद्मा रहेको अंकगणितले सत्ता प्राप्तिका निमित्त आवश्यक मत जुटाउनु भ्यागुताको धार्नी समान थियो ।
सत्तामोह र निहित स्वार्थले उक्त अवस्थालाई आत्मासात् गर्दै राष्ट्रलाई निकास दिने वैकल्पिक उपायहरूको खोजी कार्यलाई निषेध गर्यो । संवाद, सहमति तथा सहकार्यको अपरिहार्यता महसुस गरिएन । अन्ततः बुढो बहरले कोरेली बाच्छी ओगट्ने प्रवृत्ति हाबी हुँदाको परिणाम हात परेको छ । चिन्ता कसले प्रधानमन्त्री पद प्राप्ति गर्ने सुवर्ण अवसर गुमायो भन्ने होइन । चिन्ताको विषय त मुलुक पुनः भष्मासुरकै पोल्टामा प¥यो भन्ने हो ।
नागरिकको जीवनप्रति अनुत्तरदायी, अहंकारी, स्वेच्छााचारी, अनैतिक, अदक्ष, असक्षम तथा भ्रष्ट सरकारको पतन हिजोको दिनमा आवश्यक थियो । आजको दिनसम्म आइपुग्दा त्यो अनिवार्य भइसकेको थियो र छ । वर्तमान कालखण्डमा विष्णु भगवान्को रूप धारण गरेर देशलाई भष्मासुरबाट उन्मुक्ति दिने अवसरलाई राजनैतिक दलहरूले चुकाए । यदि मतदाताले दिएको प्रतिपक्षमा रहने आदेशको पालना गर्न नेपाली काग्रेस नेतृत्व कटिबद्ध हुन सकेको भए किमार्थ वर्तमान अवस्था आउने थिएन । अन्यथा आफैंले सरकारको नेतृत्व गर्ने लालसा त्यागेर राष्ट्रिय सहमतिमा सरकार निर्माण गर्ने अभ्यासतर्फ नेपाली कांग्रेसको नेतृत्व अग्रसर हुने थियो । आम नागरिकले यस संकटको घडीमा खड्गप्रसाद ओलीलाई विस्थापित गरेर अर्को खड्गप्रसाद प्रधानमन्त्री खोजेका होइनन् । खड्गप्रसादको स्थानमा देउवा, प्रचण्ड, भट्टराई वा यादवमध्ये एक अथवा तिनको जमात सरकारमा हाबी हुनु भनेको आगो माथि तातेको तावाबाट भुंग्रोमा हामफाल्नु सरह हो । यो वास्तविकतालाई बुझेर बुझ पचाउने गल्ती भने अवश्य पनि भएको हो । कुन परिस्थिति र कारणहरूले गर्दा पुनः खड्गप्रसाद हाबी हुन सफल भए भन्ने बिषय आजका दिनमा सान्दर्भिक तथा औचित्यपूर्ण छैन । जस्तोसुकै गोप्य विषय पनि गोप्य नरहने हाम्रो राष्ट्रमा आउँदा दिनहरूमा पर्दा पछाडिका चर्तिकलाहरूको खुलासा हुने नै छ ।
माक्र्सवादले निर्वाचनमा विश्वास गर्दैन । पुस ५ को दिनदेखि कम्युनिस्ट स्कुलिङमा तालिम प्राप्त प्रधानमन्त्री निर्वाचनप्रति अत्यन्त मोहित भएको देखिन्छ । निर्वाचनमा सफलता हासिल गर्न के कस्ता हत्कण्डाहरूको आवश्यकता पर्दछ, त्यस विषयमा उनी भुक्तभोगी छन् । दुई तिहाइ मत पाएको नेतालाई आफैंले भंंग गरेको संसद्ले एक तिहाइ मत प्राप्त भएको आधारमा पुनः नियुक्त गर्दाको मर्म तिनलाई जति अरूलाई सायदै थाहा होला । आशा गरौं अन्य धारणाहरू जस्तै तिनले ब्यक्त गरेको निर्वाचनसम्बन्धी धारणा आउने दिनमा परिवर्तन हुने छैन । यदि त्यसो भएन भने संविधानको प्रावधानअनुसार संघीय संसद्को चुनाव हुनेछ । टनेलको अर्को कुनामा देखा परेको उज्यालो त्यही निर्वाचन हो । निर्वाचनले नेपाली मतदाताहरूलाई भष्मासुर प्रवृत्तिबाट उम्मुक्ति दिन सक्दछ । लोकतान्त्रिक पद्धतिमा निर्वाचनले नै कमसल शासकको बदलामा योग्य शासक चयन गर्ने अवसर मतदातालाई दिन्छ । योग्य नागरिकको कर्तव्य हो अयोग्य शासकलाई सत्तामा हाबी हुन नदिनु ।
निःसन्देह लोकतान्त्रिक समाजवादमा आस्था राख्ने नेपाली कांग्रेस राष्ट्रियता तथा लोकतन्त्रको रक्षक हो । लोकतन्त्रको अभावमा राष्ट्रियता कमजोर मात्र होइन दिगो हुन सक्दैन भन्ने विश्वास गर्दथे विश्वेश्वरप्रसाद कोइराला (बीपी) । नेका उनै कोइरालाले निर्माण गरेर हुर्काएको दल हो । आजका दिनसम्म आइपुग्दा पनि बीपीको नाम भजाएर कांग्रेस आफ्नो अस्तित्व कायम गर्ने प्रयासमा छ । स्थापनाकालदेखि प्रजातन्त्र विरोधीहरूलाई कांग्रेसले शत्रु ठान्यो । निरंकुशताको विरुद्ध संघर्ष गर्यो । आज देशमा नागरिकको जीउ धन असुरक्षित छ । कोभिड संक्रमणले संक्रमित हुने तथा मृत्युवरण हुनेहरूको संख्याले ‘विश्व कीर्तिमान’ कायम गर्दैछ । आम नागरिक जीवनरक्षाका निमित्त सरकारसँग भिख माग्दैछन् । औषधि उपचारको अभावमा तड्पदै छन् अधिकांश संक्रमितहरू ।
अक्सिजन, भेन्टिलेटर तथा अस्पताल शय्याको अभावमा बिरामीहरू मृत्युवरणको पर्खाइमा छन् । देशभर दाहसंस्कार गर्ने स्थानको समेत अभाव हुँदैछ । सिडियो साहेबहरूले ‘कडाइका साथ लागू गरेको निषेधाज्ञा’ले रोग तथा भोकले निर्ममतापूर्वक नागरिकहरूको जीवनलाई जोखिमपूर्ण तुल्याएको छ । कांग्रेसजनका निमित्त हिजोका दिनमा राष्ट्रियता र लोकतन्त्रले प्राथमिकता पाएको थियो । आजको दिनमा जीउधनको रक्षाले प्राथमिकता पाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । नागरिक नभएको राष्ट्रका निमित्त राष्ट्रियता र लोकतन्त्र अर्थहीन, बेतुकको विषय हुन्छ । देशका निमित्त बिरलै आइपर्ने यस्तो आपत्कालीन अवस्थामा धैर्य साँध्ने अथवा स्वच्छ विचार गर्ने सुविधा नेपाली कांग्रेससँग छैन । विगतका गल्तीहरू कोट्ट्याएर भए, गरिएका गल्तीहरूलाई मूल्यांकन वा समीक्षा गर्ने समय पनि यो होइन । घर बलेको बेलामा आगजनी गर्ने दोषी पत्ता लगाउन खोज्नु भनेको धेरै अर्थमा खरानीसँग रमाउने प्रवृत्ति हुनेछ । यस घडीमा दाताले गोली रोकेर एकाग्रसँग नागरिकको जीवन रक्षाका निमित्त लागिपर्ने अवस्था हो । त्यसकारण प्रतिपक्ष दलको नाताले नेपाली कांग्रेसले तिनै तहका सरकारहरूलाई प्रभावकारी तुल्याउन अग्रसर हुनुको विकल्प छैन । माखेसाङ्लोमा जकडिएको राजनीतिबाट अलग रहेर तात्कालीक कर्तव्य निभाउन कांग्रेसजन अग्रसर हुनु पर्दछ ।
अन्य दलहरूको दाँजोमा नेपाली कांग्रेससँग सक्षम तथा योग्य नेता, कार्यकर्ताहरूको संख्या अत्यधिक छ । यस दलप्रति लगाव भएका बौद्धिक समुदायको ठूलो जमात छ । अर्थात् कांग्रेसका निमित्त सक्षम व्यक्तिहरूको परिचालन गर्न अन्य दलहरूलाई जस्तो कठिनाइको सामना गर्नु पर्दैन । आजको दुनियाँमा कोभिड– १९ महामारीबाट जनधनको सुरक्षा गर्न के कस्तो रणनीति अख्तियार गर्ने, कस्ता पहलकदमीहरूको कार्यान्वयन गर्दा सफलता हात पर्दछ भन्ने ज्ञानको अभाव छैन ।
विगत १६–१७ महिनामा नेपाल सरकार तथा विश्वका अन्य सरकारहरूले गरेका कार्यहरूको समीक्षा पनि धेरै भइसकेका छन् । संक्रमण नियन्त्रणका निमित्त नेपालसँग स्रोत र साधनको खाँचो छैन । राष्ट्रिय ढुकुटीमा सर्वसाधारणले पेट कसेर तिरेको तिरो तथा नेपालप्रति सद्भाव राख्ने दातृ समुदायबाट प्राप्त भएको सहयोग रकम खर्च नभएर थुप्रिएको अबस्था छ । देशमा यदि अभाव केहीको छ भने त्यो हो इच्छा शक्तिको, जनहितप्रतिको संकल्पको । विद्यमान अवस्था आउनाको प्रमुख कारण भनेको आपतबिपत परेको मौका छोपेर मुनाफा कमाउने प्रवृत्तिले गर्दा हो । कोभिड महामारीका विरुद्ध युद्धस्तरमा खटिनका निमित्त कांग्रेसजनका सामुन्ने रहेको प्रस्थानबिन्दु यही हो । खरो प्रकारले यदि कांग्रेसले आफ्नो कार्यकर्ताहरूलाई नागरिकको जीवन रक्षाका निमित्त परिचालन गर्न चाह्यो भने त्यसको विरोधमा उत्रन कुनै नेता, दल वा प्रवृत्तिले मरिहत्ते गरे पनि सक्दैनन् ।
प्रतिपक्ष दलको दायित्व र कर्तव्य भनेको कर्तव्यपरायण सरकारलाई सही मार्गतर्फ अग्रसर तुल्याउने हो । यस कार्यका निमित्त समुच्च पार्टी तयार हुनु पर्दछ । जतिसुकै सक्षम भए पनि व्यक्तिको केही चल्नेवाला छैन । संगठनात्मक हिसाबले सहज उपाय भनेको पार्टी सभापतिको मातहतमा एउटा समिति गठन गर्ने हुन सक्दछ । आपतकालीन अवस्थामा कार्य गरेका तथा पेसागत दक्षता हासिल भएको तीनदेखि चार नेताहरू सदस्य रहनेगरी एक सदस्यलाई कमान्डर नियुक्ति गरेर तिनकै मातहतमा कार्यकर्ताहरूको परिचालन गर्नु उचित हुनेछ । उक्त कमान्डरले तीनै तहका सरकारहरूलाई क्रियाशील तुल्याएर नागरिकहरूलाई कोभिड महामारीको प्रकोपबाट जीवनरक्षा गर्न उत्तप्रेरित गर्न सक्दछ । तीनै तहका कांग्रेस नेता तथा कार्यकर्ताहरूले सक्रिय भएर सरकारलाई सहयोग गर्ने अथवा बाध्य तुल्याएर विपत्मा परेका नागरिकहरूलाई सहयोग उपलब्ध गराउने कार्यले नेपाली कांग्रेसले गुमाउँदै गरेको नागरिकसँगको प्रत्यक्ष सम्बन्धलाई पुनः मजबुत तुल्याउन सहयोग गर्नेछ । विपत्को अवस्थामा बढेका सहयोगी हातहरूप्रति नेपाली मतदाताहरू कृतज्ञ नहुने भन्ने हुँदैन । आजको दिनमा कोभिड– १९ का विरुद्ध संगठित भएर नेपाली कांग्रेस लाग्ने हो भने भोलिका दिनमा बहुमत प्राप्त गरेर भाष्मासुर प्रवृत्तिलाई परास्त गर्न सफल हुनेमा शंका गर्नु पर्दैन ।
(२०७८ जेठ २ गते प्रकाशित देशान्तर साप्ताहिकबाट)
प्रतिक्रिया