देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जर्मन कपको उपाधि डर्टमुन्डलाई

देशान्तर

बोरुसिया डर्टमुन्डले जर्मन कपको उपाधि जितेको छ । बिहीवार राति भएको खेलमा आरबी लाइप्जिगमाथि ४–१ गोल अन्तरको फराकिलो जितका साथ उपाधि हात पारेको हो ।


डर्टमुन्डको जितमा जाडोन सान्चो र एर्लिङ हालान्डको प्रदर्शन उत्कृष्ट रह्यो । यी दुई खेलाडीले समान दुई दुई गोल गरेका थिए । लाइप्जिगका लागि ड्यानियल ओल्मोले एक गोल फर्काए पनि त्यो उपाधि जित्न पर्याप्त रहेन ।


पाँचौं मिनेटमा सान्चोले गोल गर्दै डर्टमुन्डलाई शुरुवाती अग्रता दिलाएका थिए ।
यसैगरी खेलको २८औं मिनेटमा हालान्डले गोल गरेपछि अग्रता दोब्बर भएको थियो । पहिलो हाफको अतिरिक्त समयमा सान्चोले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै उपाधि लगभग पक्का गरेका थिए ।


खेलको ७१ औं मिनेटमा ओल्मोले गोल गर्दै अग्रता ३–१ मा झार्दै लाइप्जिगलाई खेलमा फर्काउने प्रयास गरे पनि धेरै ढिला भइसकेको थियो । ८७ औं मिनेटमा हालान्डले पनि व्यक्तिगत दोस्रो गोल गर्दा डर्टमुन्ड ४–१ ले अघि बढेको थियो । त्यसपछि थप गोल नभएपछि जर्मन कपको उपाधि डर्टमुन्डले हात पार्न सफल भयो ।

सन् २०१७ पछि पहिलो पटक डर्टमुन्डले जर्मन कपको उपाधि जितेको हो भने समग्रमा पाँच पटक जितेको छ ।