काठमाडौं – नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ नेताहरुको कारवाही फुकुवा गरेको छ ।
आज बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले त्यस्तो निर्णय गरेको हो ।
बैठकका निर्णय अनुसार वरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि गरिएको कारवाही फिर्ता लिइएको हो ।
पार्टी एकता कायम राख्न भन्दै नेताहरुको कारवाही फिर्ता गरिएको बालुवाटार स्रोतले जनाएको छ । नेपाल पक्षले पार्टी हित विपरित काम गरेको भन्दै स्पष्टीकरण सोधेको र स्पष्टीकरण नआएपछि कारवाही गरिएको थियो ।
यता प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई सत्ताबाहिर ल्याउन आफूहरु सामूहिक राजीनामा समेतको तयारीमा नेपाल पक्ष लागेको थियो । सोमवार ओलीले संसदबाट विश्वासको मत लिन नसकेपछि नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपतिले ४ दललाई आह्वान गरेकी छिन् ।
तर दलहरुबीच बहुमतसहित सहमती नजुट्दा नयाँ बहुमतको नयाँ सरकार गठन हुन सकेको छैन । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले वैकल्पिक सरकारमा सामेल नहुने अडान लिएका छन् ।
तर ओलीलाई सरकारबाट हटाउनका लागि आफूहरु राजीनामा समेत दिन तयार रहेको नेपाल पक्षका नेताहरुले चेतावनी दिएका थिए ।
प्रतिक्रिया