देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तैपनि सन्तोष थिएन : शिवबहादुर खड्कालाई पनि !

देशान्तर

माथवरसिंह बस्नेत

“मलाई आफ्नो सिद्धान्त र आदर्शका लागि जेलमा बस्नु परेकोमा कुनै दुःख छैन । अरू पनि कयौं साल यहाँ बिताउन सक्छु । केवल एक–दुई कुराले त्यागमा हुनुपर्ने आत्मसन्तोष हुन दिएको छैन । एक, प्रजातन्त्र र प्रतिनिधिमूलक संसदीय शासन प्रणाली बारेको मोटामोटी धारणा सिवाय हाम्रा नेताहरूमा समेत लक्ष्य र लक्ष्य प्राप्त गर्ने उपायहरूका बारेमा कुनै निश्चित र स्पष्ट धारणाको अभाव । दोस्रो, बिदेसिएका साथीहरू र यहाँ रहेका साथीहरूका बीचमा कुनै सम्बन्ध र सम्पर्कको अभाव । तेस्रो, जेलभित्र रहेका साथीहरूका बीचमा पनि ठण्डा दिमागले सरसल्लाह र आचारविचार गर्ने आदत र परम्पराको अभाव । चौथो, आचारविचार र बानी व्यहोराबाट हामी पनि सर्वसाधारण मानिसभन्दा धेरै माथि उठेका रहेनछौं भन्ने ज्ञान ।”

नेपाली कांग्रेसका नेता तथा चिन्तक योगेन्द्रमान शेरचनले सन् १९६५ को सेप्टेम्वर २६ तारिखमा आफ्नो सुन्दरीजल जेल डायरीमा लेख्नु भएको आत्मस्वीकृतिको एक अंश, जुन राष्ट्रिय पुनर्जागरणको विसं २०४४ साल चैतको पूर्णांक १४ को योगेन्द्रमान शेरचन स्मृति अंक, पृष्ठ ७६ मा प्रकाशित छ । माथिका पंक्तिहरू त्यही स्मृति अंकबाट जस्ताको तस्तै उतार गरिएको हो । नेता शेरचन, प्रधानमन्त्री बीपी कोइरालाले नेतृत्व गर्नु भएको नेपालको पहिलो जननिर्वाचित सरकारमा सहायकमन्त्री हुनुहुन्थ्यो । २०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रको अपहरण गरेर सरकारलाई अपदस्थ गरेपछि बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र र दिवानसिंह राईलाई सुन्दरीजल सैनिक शिविरमा आठ वर्षसम्म नजरबन्द गरेका थिए । यो त्यसै बेला व्यक्त अनुभूति हो ।

स्व. शिवबहादुर खड्का

किन यो प्रसंग यस बेला उठाउनुपर्‍यो ? प्रश्न उठ्ने नै छ र जवाफ पनि तयार छ । त्यो हो, जुन असन्तोष योगेन्द्रमान शेरचनजीलाई जेलभित्र बस्दा थियो, शिवबहादुर खड्कालाई जेल बाहिर मात्र होइन, प्रजातन्त्र पुनस्र्थापनापछि पनि थियो । प्रजातन्त्रका लागि सम्पूर्ण जीवन न्यौछावर गरेका खड्का, गत सोमबार सबैलाई सरप्राइज दिएर बिनासूचना चुपचाप अनन्तमा विलीन हुनुभयो ।

उहाँलाई प्रजातन्त्र पुनस्र्थापनाको लामो र कठिन संघर्षमा अवर्णनीय यातना र दुःख झेल्नु परेकोमा अफसोच थिएन, गर्व नै थियो । तर त्यसपछिको पुनः निर्माणको अभियानमा नेतृत्व दिन नसकेकोमा भने पार्टीप्रति ठूलो असन्तोष थियो । आफ्नो पार्टीको नेतृत्व तहबाटै प्रजातन्त्रलाई जनताको जीवन पद्धति तुल्याउने र स्थायित्व प्रदान गर्ने भिजन तथा ब्लुप्रिन्ट दिने काम गर्न नसकेको तीतो अनुभवले उहाँलाई जीवनभरको संघर्षको सर्वोत्तम उपलब्धि पनि खल्लो लाग्न थालेको थियो । त्यही सन्दर्भमा योगेन्द्रमान शेरचनजीको असन्तोषले उहाँलाई ढाढस प्रदान गर्ने गरेको थियो । आफ्ना अन्ंतरंग मित्रमण्डलीमा त्यो वास्तविकतालाई उहाँ बारम्वार दोहोर्‍याउने गर्नुहुन्थ्यो । पार्टी नेतृत्वलाई त्यसप्रति सचेत र जागरुक तुल्याउन खोजे पनि त्यस्तो प्रयास अनेक कारणले सार्थक हुन नसकेकामा उहाँ उत्तिकै असन्तुष्ट हुनुहुन्थ्यो ।

एक समय यस्तो पनि थियो, शिवबहादुर खड्का, नेपालको प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनको रथ हाक्ने एक्लो सारथि हुनुहुन्थ्यो । निर्दलीय पञ्चायत व्यवस्थाको उत्कर्षकालमा दलगत क्रियाकलापमाथि कठोर नियन्त्रण थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा पञ्चायत विरोधी राजनीतिक शक्तिको अस्तित्वबोध गराउने भार पूर्णतयाः विद्यार्थी नेतृत्वको काँधमा थियो । त्यसमा पनि प्रजातन्त्रवादी विद्यार्थी संगठन, प्रजातान्त्रिक आन्दोलनको पहिचान र मेरुदण्ड दुवै थियो । त्यसको ड्राइभरको सिटमा आसिन हुनुहुन्थ्यो, शिवबहादुर खडका । तिनताकाको विद्यार्थी राजनीतिको केन्द्र थियो– त्रिचन्द्र कलेज । त्रिभुवन विश्वविद्यालयले त्यस्तो स्थान र स्थिति प्राप्त गरिसकेको थिएन । त्यसबेला शिवबहादुर खड्का त्रिचन्द्र कलेज विद्यार्थी युनियनका निर्वाचित अध्यक्ष हुनुहुन्थ्यो । पीएल सिंह, दमननाथ ढुंगाना, शंकर घिमिरे, कमल चित्रकार, शेरबहादुर देउवाजस्ता जल्दाबल्दा नेताहरू पैदा गर्ने श्रेय त्यही कलेजलाई थियो । त्यसको नेतृत्व जसले गरेको हुन्थ्यो, राष्ट्रिय राजनीतिको चर्चित नेता उही हुनु स्वाभाविक थियो । विदेशी दूतावास र सञ्चारकर्मीको नजर पनि उनीहरूमाथि टिकेको हुन्थ्यो, किनभने राजाको निरंकुश व्यवस्थाको समग्र विरोधी राजनीतिक गतिविधिको इन्डिकेटर जो मानिन्थ्यो– विद्यार्थी आन्दोलनलाई ।

भनिरहन परेन, शिवबहादुर खड्का त्यस अर्थमा विद्यार्थी राजनीतिका “हिरो” हुनुहुन्थ्यो । रामेछाप जिल्लाका सम्पन्न परिवारका जेठा छोरा खड्काको, शारीरिक बनोट र सुकुमारपन कुनै सिनेमाका नायकभन्दा कम थिएन । नेपालमा तिनताका टेलिभिजनको के कुरा, सिनेमा निर्माणको क्रम पनि चलेको थिएन । नत्र, खड्काजी नेता मात्र होइन, अभिनेता बन्ने सम्भावना पनि धेरै थियो । नियतिलाई त्यो मञ्जुर थिएन, त्यसैले त्यस्तो दुर्घटनाबाट उहाँ बच्नुभयो ।

पद र अवसरभन्दा विचार र आदर्शलाई महत्व दिने शिवबहादुर खड्काको जीवन, अत्यन्त सफल र सार्थक रहेको छ । नेपाल विद्यार्थी संघका संस्थापकमध्ये एक हुनुहुन्थ्यो भन्ने सबैलाई थाहा छ तर प्रजातान्त्रिक संस्थामा सबैले अवसर पाउनुपर्छ भनेर साथीहरूलाई प्रोत्साहित गर्न आफू पछि हट्ने उहाँको उदात्तताका बारेमा कम चर्चा हुन्छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलन र कांग्रेसको संगठन विस्तारमा उहाँले पुर्‍याउनु भएको योगदानको जुन शब्दमा प्रशंसा गर्नु भएको छ, त्यसबाट उहाँको उच्च मूल्यांकन भएको छ । त्यसमाथि थप प्रकाश पार्ने काम उपयुक्त समयमा हुने नै छ ।

मुलुकलाई प्रजातान्त्रिक पद्धतिबाट समृद्ध र सम्पन्न तुल्याउने भिजनका सन्दर्भमा कांग्रेसका नेताहरूको कमी र कमजोरीप्रति योगेन्द्रमान शेरचनजीको जस्तो असन्तोष थियो, शिवबहादुर खड्काको पनि त्यस्तै गुनासो र असन्तोष थियो– निकट अतीतका गल्ती र कमजोरीका प्रसंगमा । पार्टीको निर्णय कार्यान्वयनमा अनुशासनको सीमारेखा पार नगर्ने तर आफ्ना विचार र मतभेदलाई चाहिँ खुलेर राख्ने उहाँको आदत थियो । उहाँले संवैधानिक राजतन्त्रको अन्त्य र गणतन्त्रको बहाल गराउने पक्षमा त्यो एजेन्डा जहाँबाट आएको भए पनि मुलुकको स्थायित्वका सवालमा सम्झौता गर्नुहुन्न भन्ने अडान राख्नुभयो । दोस्रो, बहुसंख्यक हिन्दुहरूको भावनामा ठेस पुर्‍याएर अल्पसंख्यकलाई रिझाउने नीतिले अंततः हिन्दु संस्कार र संस्कृति नास्ने अभियानलाई बल प्रदान गर्छ । हिन्दु संस्कार र संस्कृतिको परम्परा नष्ट भएपछि विस्तारै हाम्रो आफ्नोपन र पहिचान पनि नासिन्छ, त्यसैले धर्म र संस्कृतिको रक्षाको पक्षमा कांग्रेस अडिग रहनुपर्छ भन्ने उहाँको मान्यता थियो । त्यस्तै प्रजातन्त्रका मूल्य र मान्यताको जगेर्ना गर्न कम्युनिस्टसँगको सहकार्य अन्त्य गर्नुपर्छ भन्ने उहाँको दृढ धारणा थियो । प्रजातन्त्र पुनस्र्थापनाको संघर्षमा राजाले कम्युनिस्ट नामधारी लौरो कांग्रेसका पुर्पुरोमा बजार्न प्रयोग गर्ने गरेकाले त्यो लौरो राजाका हातबाट खोजेर उनैका थाप्लामा बजार्ने रणनीति ठीक थियो । तर बाह्रबुँदे दिल्ली सम्झौताले त्यसलाई नेपाली राजनीतिको अभिन्न अंग तुल्याएकाले प्रजातन्त्रको उज्ज्वल भविष्यका निम्ति त्यसलाई उहाँ खतराको घण्टी ठान्नु हुन्थ्यो । कांग्रेसले कम्युनिस्टसँग सहकार्य होइन, सामना गरेर अघि बढ्ने नीति अपनाउनु पर्छ । अनि मात्र प्रजातन्त्रलाई अधिनायकवादबाट जोगाउने कांग्रेसको अठोट र संकल्पको औचित्य सिद्ध हुन्छ ।

कांग्रेसलाई नेपाल र नेपालीको भाग्य र भविष्य तुल्याउन उहाँका त्यस्ता विचारलाई कांंग्रेसका नीति र कार्यक्रममा रूपान्तरित गर्न सकियो भने मात्र उहाँप्रति व्यक्त श्रद्धाञ्जलि सार्थक हुनेछ । उहाँको आत्माले शान्ति पाओस् ।