देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीलाई विश्वास गर्ने आधार नै छैन

देशान्तर

डा. प्रकाशशरण महत, सह–महामन्त्री, नेपाली कांग्रेस

डा. प्रकाशशरण महत, सह–महामन्त्री, नेपाली कांग्रेस

कोरोना महामारीको बीचमा सरकारले गरिरहेका कामको कसरी मूल्यांकन गर्नुभएको छ ?

सरकार कुनै पनि कामकाप्रति संवेदनशील छैन । कोभिड– १९ महामारी जसरी फैलिएको छ, जनता आक्रान्त छन् । अक्सिजनको अभावमा जनताले उपचार पाउन सकेका छैनन् । यसैगरी बेड, भेन्टिलेटरको कमीका कारण जनताले सहज उपचार पाउने अवस्था छैन । कोभिडका कारण अहिले हाम्रो स्थिति अत्यन्त दर्दनाक बन्दै छ । सरकार कुरा मात्रै गर्छ काम गर्दैन । अहिले भ्याक्सिनको सवालमा समेत फेरि पहिलाको जस्तै स्वास्थ्य सामग्री खरिदमा जस्तै अनियमितता गरेको छ । सरकारको अगाडि अनेकौं बिचौलियाहरू छन् । अहिलेको संक्रमणको बेलामा बिचौलियाहरूले नै राज गरिरहेका छन् । यस्तो अवस्थामा पनि सरकारले संवेदनहीनताको हद पार गरिसकेको छ । अहिले पनि सरकारमा बसेकाहरू बिचौलियाले यस्तो ग¥यो भनेर मन्त्रीहरू नै कमिसन नपाएर रुवावासी गरेर बस्नु भएको छ । अहिले सरकारका बस्नेका कुरा सुन्ने हो भने उहाँहरू नै बिचौलियाबाट चल्नु भएको कुरा बुझ्न सहजै छ । सरकारमा बस्नेहरूकै अनुमतिबिना त बिचौलियाहरू यसरी सक्रिय हुन सक्दैनन । सेरम इन्स्टिच्युटबाट त सीधै खोप ल्याउनका लागि नेपाल सरकारले भारत सरकारमार्फत डिल गर्न सक्छ । त्यो नगरेर अहिले बिचौलियालाई दोष लगाउने काम भएको छ । बिचौलिया सल्बलाउनका लागि सरकारकै साथ र सहयोग छ भन्ने प्रष्ट भइसकेको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएपछि सरकारसँग यो विषयमा छलफल गर्नुभएको छ ?

हामीले छलफल गरेका छौं । मैले नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भ्याक्सिन प्रकरणमा कुरा उठाएको छु । कोरोना महामारीको यत्रो कहर भइरहेका बेला किन भ्याक्सिन खरिद प्रक्रियामा अनियमितता भयो भनेर सोधेको थिएँ । भ्याक्सिन खरिदका लागि एड्भान्स रकम दिइसकेपछि पनि किन बिचौलियाको प्रवेश भयो भन्ने हाम्रो प्रश्न प्रधानमन्त्रीलाई गरेका थियौं । नेपाली कांग्रेसले भ्याक्सिनको मात्रै होइन, समग्र कोभिडबाट आक्रान्त भएका जनता छन्, तिनीहरूका लागि अक्सिजन र बेडको व्यवस्था मिलाउन पनि भनेका छौं । यसैगरी कोरोना रोकथामका लागि सम्पूर्ण उपायहरू अबलम्बन गर्नका लागि भनेका छौं । साथै आम्दानीलगायतका विभिन्न कारणले उपचार गर्न नसक्ने नागरिकहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छौं । त्यति मात्र होइन हामी आफैंले, यद्यपि नेपाली कांग्रेससँग अहिले राज्यको स्रोतसाधन त छैन, हामी विपक्षमा छौं, राज्यले गर्ने काम हामीले गर्न सक्दैनौं । तै पनि हाम्रो देशभरको संरचनाहरूलाई जहाँजहाँ जसरी सहयोग गर्न सकिन्छ सहयोग गर्नका लागि पार्टीले निर्देशन दिएको छ । त्यसमा कांग्रेसका साथीहरूले काम पनि गरिरहनु भएको छ ।

सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि संसद् अधिवेशन आह्वान गर्नुभएको छ, यस्तो अवस्थामा नेपाली कांग्रेसले के गर्छ ?

प्रधानमन्त्रीसहितको टोली हाम्रा पार्टी सभापति शेरबहादुर देउवालाई उहाँकै निवास बूढानीलकण्ठमा भेट गर्न आउनु भएको थियो । त्यहाँ हामी पनि सहभागी थियौं । उहाँहरूको टोलीलाई हामीले अहिलेको अवस्थामा विश्वासको मत दिन सक्दैनौं भनेर जवाफ दिएका छौं । पहिलादेखि नै कांग्रेस एमालेले सहकार्य गरेकाले अब पनि सहकार्य गरौं भनेर प्रस्ताव गर्नुभएको थियो । उहाँहरूले लोकतन्त्र स्थापनामा भूमिका खेलेका दल भएको नाताले कांग्रेस र एमालेले सहकार्य गर्ने कुरा गर्नुभएको थियो । हामीले भन्यौं ‘तपाईँहरूले कुरा त राम्रो गर्नु भएको छ, त्यसका लागि धन्यवाद, तर तपाईँहरुको कामबाट त्यस्तो देखिएको छैन ।’ तपाईंहरू सत्तामा आएदेखि नै सत्ताको दुरुपयोग गर्नुभएको छ । त्यसैले अहिलेको अवस्थामा कांग्रेस र एमालेका बीचमा सहकार्य गर्ने कुरा हुँदैन ।

भनेको तपाईँहरूले प्रधानमन्त्री ओलीलाई विश्वास गर्ने आधार नै छैन होइन त ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सञ्चालन गरेदेखि नै उहाँले मनोमानी ढंगले काम गर्नुभएको छ । कसैको अस्तित्व नै स्वीकार गर्नु भएको छैन । पछिल्लो समयमा त झन् संवैधानिक आयोगका नियुक्तिदेखि अध्यादेश जारी गर्ने प्रकरणका कारण ओलीलाई अहिलेको अवस्थामा विश्वास गर्ने आधार नै छैन । प्रधानमन्त्रीले अहिले संवैधानिक मर्यादाहरूलाई पनि एकपछि अर्को गरी तोड्नु भएको छ । संसद्लाई बाइपास गरेर अध्यादेशहरू पनि ल्याउँदै आउनुभएको छ । जसरी लुम्बिनी र गण्डकी प्रदेशमा आफ्नो बहुमत नहुँदानहुँदै पनि प्रदेश सरकार कब्जा गर्नुभएको छ । यी तमाम कारणले गर्दाखेरि मुखले प्रधानमन्त्रीले जे भने पनि व्यवहारमा त विश्वास गर्ने कतै पनि ठाउँ छैन ।

तपाईंहरूले विश्वासको मत दि“दैनौं भन्दा पनि प्रधानमन्त्री ओलीको बूढानीलकण्ठ आगमनलाई कसरी बुझ्ने ?

त्यो छलफलमा म पनि सहभागी थिएँ । प्रधानमन्त्रीले कांग्रेस र एमाले पछि सँगै सहकार्य गरौं भन्ने प्रस्ताव राख्न आउनु भएको थियो । तर, हामीले स्पष्ट रूपमा तपाईंले कोसिस गर्नुभयो, भन्नुभयो यो अवस्थामा तपाईंलाई हामीले विश्वासको मत दिन सक्ने अवस्था छैन भन्यौं । उहाँलाई थाहा पनि थियो हामीले सहयोग गर्दैनौं भन्ने पनि । ओलीले भन्दा सहयोग पाइन्छ भन्ने मनसायले आए जस्तो त हामीलाई पनि लाग्दैन ।

बूढानीलकण्ठको छलफललाई पछि कांग्रेस र एमालेबीचमा सहकार्य हुन्छ, त्यसको ढोका खुल्यो भन्ने गरी पनि अर्थ लगाइन्छ त ?

अहिलेको अवस्थामा कांग्रेस र एमालेबीचमा सहकार्यको कुनै सम्भावना छँदै छैन । २७ गतेको संसद्को विशेष अधिवेशनमा हाम्रो सम्पूर्ण प्रयास ओलीको विश्वासको प्रस्तावलाई विफल बनाउने हो । त्यसका लागि हामी अहिले निरन्तर अन्य पार्टीसँग पनि छलफलमै छौं ।

२७ गतेपछि नयाँ सरकार बन्न नसक्ने अवस्था भयो भने कांग्रेसले के गर्छ ?

अहिले हामी २७ गतेसम्मका लागि केन्द्रित छौं । केपी ओलीको विश्वासको मत असफल होस् त्यसमै लागिपरेका छौं । हामीले असफल गराउन सकेनौं भने ओली नै निरन्तर भइहाल्नु भयो । असफल गराउन हामी सफल भयौं भने राजनीतिक कोर्स नयाँ तरिकाले अघि बढ्ला त्यसका लागि हामीले थप छलफल गर्नुपर्छ । नेपाली कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउनका हामीले कोसिस गर्छौं ।

वैकल्पिक सरकार बनाउने विषयमा अन्य दलहरुसँग कसरी छलफल भएको छ ?

वैकल्पिक सरकार बनाउने विषयमा छलफल त भइनै राखेको छ । बहुमत जुटाउन सकेको भए पहिला नै हामीले अविश्वासको प्रस्ताव दर्ता गर्ने थियौं । संसद्को अंकगणितका कारण हामी अविश्वासको प्रस्ताव दर्ता गर्ने तहमा जान सकेनौं । अब मौका आएको छ यसका लागि हामी छलफल गरेर धेरैभन्दा धेरै सांसद संख्यालाई समेटर अघि बढ्ने प्रयासमा हुनेछौं ।

ओलीले विश्वासको मत पाउँदैनन् भन्ने जान्दाजान्दै संसद्लाई फेस गर्न लाग्नुभएको छ, यसलाई कांग्रेसले कसरी बुझेको छ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा आफूसँग बहुमत भएको आभास गर्न सक्नु भएन । त्यसकारण अहिले परीक्षण गरौं, असफल भइयो भने विकल्पमा जान सकेन भने आफूले नै अर्को कोर्स लिन सक्छु र संसद्लाई फेरि विघटनको बाटोमा लान सक्छु भन्ने पनि मनसाय हुन सक्छ ।

भनेको देश अर्ली इलेक्सनमा जाँदैछ भन्ने बुझाइ हो ?

विपक्षीहरू एकजुट नभएको खण्डमा त ओलीजीले आफूलाई जे जे अनुकूल हुन्छ त्यही त्यही गर्दै जानुहुन्छ नि । कांग्रेसमा पनि हामी आफैंसँग उहाँलाई काउन्टर दिने संख्या छैन । हामीले मात्रै चाहेर पनि उहाँलाई हटाउन सकिँदैन । माओवादी हामीसँगै आएर चाहँदा पनि पुग्दैन । जसपाको पनि सहयोग हामीलाई चाहिन्छ । जसपाको सहयोग हामीलाई नै हुन्छ भन्ने कुरा सुनिश्चित भइसकेको छैन ।

जसपासँग छलफलमा त हुनुहुन्छ । तर, निष्कर्ष किन आएन ?

हामी जसपासँग छलफलमै छौं । निष्कर्ष अझै निस्कन सकेको छैन यो सत्य हो । जसपाभित्र सबै एकनासका नेताहरू छन् भन्ने छैन । तर, जसपाका केही नेताहरू के कुराले ओलीजीप्रति आकर्षित हुनुहुन्छ त्यसको जवाफ त उहाँहरूले दिन सक्नुहुन्छ ।

अहिलेको अवस्थामा प्रधानमन्त्री ओली सच्चिएर आए सहकार्य हुन्छ कि हुँदैन त ?

सच्चिने कुरा त व्यवहारमा देखिनु पर्‍यो । उहाँको व्यवहार सच्चिने खालको देखिएकै छैन । उहाँका विगतका घटनाक्रमले नै उहाँलाई सच्चिने ठाउँ नै दिएको छैन । प्रधानमन्त्री भएपछि हामीसँग पनि धेरै पटक छलफल भयो तर उहाँले कहिले पनि छलफलमा भएका कुराहरू कार्यान्वयन गर्नु भएन । कुरा एकतिर गर्नुहुन्छ काम अर्कोतिर गर्ने बानीका कारण उहासँग हाम्रो सहकार्य हुन्छ भन्ने कुरामा मलाई विश्वास छैन । केपी ओलीको काम र कुरामा धेरै ठूलो अन्तर छ । यो अन्तर कायम रहँदासम्म सहकार्य हुँदैन ।

अहिलेको अवस्थामा चुनावी सरकार बनाउने अवस्था आयो भने ओली नेतृत्वकै सरकार हुन्छ या अरू केही हुन्छ ?

चुनावी सरकार गठन गर्ने विषयमा तपाईं अहिले प्रवेश नगर्नुस् । त्यो त घटनाक्रमले देखाउँला । उहाँ अल्पमतमा पर्दा पनि हामीले विकल्प दिन सक्छौं कि सक्दैनौं त्यो सुनिश्चित नभएसम्म यो हुन सक्छ भन्ने अनुमान अहिले नै नगरौं । किनभने हामीसँग संसद्मा पुग्दो संख्या भएको भए अहिलेको अवस्था आउने नै थिएन ।

अहिलेको अवस्थामा लुम्बिनी प्रदेश प्रकरण दोहोरिने खतरा पनि छ नि केन्द्रमा ?

त्यो खतरा म पनि देख्दैछु । जबरजस्ती शासन गर्ने कुरा त आउँदैन । त्यस्तो अवस्थामा कानुनी र अन्य उपचारको विधि हामीले खोज्छौं । अन्य उपचार भनेको आन्दोलन पनि हो ।

कांग्रेसको १४ औं महाधिवेशन भदौमा कसरी हुन्छ त ?

कोभिडका कारण कठिनाइ थपिएको छ । अहिले निषेधाज्ञाको जुन स्थिति छ । तै पनि हामीले सक्रिय सदस्यता सम्बन्धमा आन्तरिक रूपमा छानबिनको काम भइरहेको छ । केही ठाउँबाट प्राविधिक कारणले क्रियाशील सदस्यता केन्द्रमा आउन सक्या छैनन् । त्यसलाई पनि कसरी ल्याउने प्रबन्ध गर्ने काममा पनि लागेका छौं । कोभिडको संक्रमण अलि कम भएपछि त्यो पनि आउला । अहिले पनि हामीहरू निश्चित कार्यतालिकाअनुसार भदौमा महाधिवेशन सम्पन्न गर्ने गरी लागिपरेका छौं ।

तर प्रधानमन्त्रीले कांग्रेसको महाधिवेशन भएन भने, संविधान संशोधन गरिदिन्छु भन्नु भएको छ नि ?

नेपाली कांग्रेस अहिले पनि भदौमा महाधिवेशन गर्ने गरी काम गरिरहेको छ । हामीले प्रधानमन्त्रीसँग संविधान संशोधन गर्नका लागि सहयोग पनि मागेका छैनौं ।

कांग्रेसकै अर्को पक्षले अहिलेको असहज अवस्थामा विशेष महाधिवेशनको प्रस्ताव पनि गरेको छ होइन र ?

यस्तो विकल्पमा उहाँहरूले प्रस्ताव पनि गर्नु भएको छैन । हामीले सोेचेका पनि छैनौं ।

प्रस्तुति : मुक्तिबाबु रेग्मी